काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको शपथ लिएसँगै आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्नुहुने भएको छ ।
सरकारमा सात दलको समर्थन छ भने तीनजना स्वतन्त्र सांसदले पनि प्रधानमन्त्रीका लागि प्रचण्डलाई समर्थन गरेका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एमालेलगायतका दलबाट एकएक जना सहभागी गराएर मन्त्रिपरिषद् गठन गर्ने सहमति भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार एमालेबाट कसलाई मन्त्रीमा पठाउने भन्ने बारेमा छलफल चलिरहेको भए पनि निर्णय हुन बाँकी छ ।
एमाले सचिव पद्मा अर्यालले कसको नेतृत्वमा सरकारमा जाने भन्ने बारेमा पार्टीमा छलफल भइरहेको सीआईएनसँग बताउनुभयो ।
सत्ता गठबन्धन दलमा रहेका दलले आआफ्नो पार्टीमा छलफल गरेर दिउँसोसम्ममा जानकारी गराउने सहमति हिजो भएको नेताहरुले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९, ०८:३९