दाङ । व्यावसायिक रूपमा पालिएका बङ्गुर नबिकेपछि दाङका व्यवसायीलाई समस्या भएको छ । आर्थिक मन्दीको मार खेपिरहेका किसान पालिएका बङ्गुर विक्री नभएपछि व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेका छन् । घोराही–१८ मा सुशीला गुरुङले बङ्गुर पाल्न थालेको झन्डै डेढ दशक भयो । अहिलेसम्म उहाँले बङ्गुर विक्री नहुने समस्या भोग्नुपरेको थिएन । तर, बङ्गुर नबिक्दा यस पटक व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था आएको उहाँ बताउनुहुन्छ ।
बङ्गुर पालन व्यवसाय गरिरहेका घोराही १४ पुलचोक खोली गाउँका बमपाल बुढाको अवस्था पनि सुशीलाको भन्दा फरक छैन । २८ वर्षदेखि बङ्गुर पाल्दै आएका बमपालाले विगतमा बङ्गुर पालेरै राम्रो आम्दानी गरिरहनुभएको थियो । तर अहिले पाठा पाठी र मासुका लागि तयार भएका बङ्गुर पनि नबिक्दा व्यवसायका लागि लिएको ऋण तिर्नै नसक्ने अवस्था आएको उहाँले बताउनुभयो । व्यवसायी धेरै भएकाले पाठा पाठी बिक्री हुन छोडेको र व्यापारीले मासु पनि नलैजाँदा बङ्गुरको खानाका लागि ल्याएको भुसको खर्च पनि उठाउन मुस्किल भएको गुनासो बमपालको छ ।
दाङमा करिब १२ सय जना बङ्गुर पालन व्यवसायमा रहेको तथ्याङ्क छ । मासुका लागि तयार भएका बङ्गुर विक्री नहुँदा समस्यामा परेको बङ्गुर व्यवसायी सङ्घ दाङका सचिव तुलसीराम बुढाले बताउनुभयो । बङ्गुर र फर्मको संरचना गरेर करिब १ करोड ३० लाख रुपैयाँको लगानी रहेको परिवर्तन बङ्गुर पालन फर्मका सञ्चालक बीरबहादुर चौधरीले ६ महिनादेखि बङ्गुरको दानाका लागी ८ लाख रुपैयाँ ऋण लिइसकेको बताउनुभयो । उत्पादन धेरै तथा माग थोरै हुँदा समस्या आएको, बङ्गुर व्यवसायी सङ्घ घोराहीका नगर अध्यक्ष समेत रहेका चौधरीको भनाई छ । बङ्गुर पाल्नका लागि प्रोत्साहन गर्ने सरकारले बजारको खोजीमा भने सहयोग नगरेको व्यवसायीको गुनासो छ ।
घोराही उपमहानगर पालिकाका उपमेयर हुमाकुमारी डीसीले जिल्लामा माग भन्दा उत्पादन धेरै भएपछि बङ्गुर विक्री हुन छाडेको बताउनुभयो । यो समस्या नगरपालिकामा पनि जानकारी आएको तर समस्या समाधान गरिहाल्ने उपाय भने नगरपालिकासँग पनि नभएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९, १५:३५