काठमाडाैँ । प्रधानमन्त्रीका रूपमा तेस्रो पटक सिंहदरबार प्रवेश गर्दै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अवसर र चुनौती हाराहारी देखिन्छन् । आफूलाई ‘डाइनामिक लिडर’ अर्थात् गतिशील नेता भन्न रुचाउने प्रचण्डलाई आलोचकहरू चाहिँ अस्थिर नेता भन्छन् । हुन पनि कहिले यता त कहिले उता गरेर कुनै न कुनै रूपमा आफू र आफ्नो पार्टीलाई सत्ताको नजिक राख्न सफल प्रचण्डले भर्खरैसम्म हातेमालो गरिरहेको काँग्रेस र आफ्नै भर परिरहेको दल एकीकृत समाजवादीलाई छोड्दै कुनै बेला निकै तिक्त सम्बन्ध रहेको दल एमालेसँग सहकार्य गर्ने निर्णय लिनु आफैँमा सानो जोखिम होइन । त्यसैले पनि नवनियुक्त प्रधानमन्त्री प्रचण्डको पहिलो चुनौती नयाँ गठबन्धनको औचित्य पुष्टि गर्नु नै हुनेछ । यो कुरा प्रचण्डको प्रधानमन्त्रित्व कालका लागि मात्र होइन सम्भवतः उहाँको दल माओवादी केन्द्रको राजनीतिक भविष्यका लागि अझ बढी महत्त्वपूर्ण हुनेछ ।
नव नियुक्त प्रधानमन्त्री प्रचण्डका सामु दैनन्दिनका सेवा प्रवाह नै कमजोर रहेको सरकारप्रति आम नागरिकको भरोसा बलियो बनाउनुपर्ने दायित्व मात्र छैन, दूरगामी महत्त्वका योजना अघि बढाएर आशा जगाउनुपर्ने निकै कठिन जिम्मेवारी पनि छ । संस्थागत भ्रष्टाचारको आहाल सफा गर्नु अनि कानुन र विधिको दुरुपयोगका बग्रेल्ती प्वाल टाल्नुपर्ने चुनौती अर्को र अहम् चुनौती हो नवनियुक्त प्रधानमन्त्री प्रचण्डका लागि । विदेशी शक्ति केन्द्रहरूको चासो र कतिपय अवस्थामा दबाब पनि थेग्नुपर्ने नयाँ प्रधानमन्त्री प्रचण्डका लागि अर्को चुनौती हो ।
प्रचण्डले यो जोखिमपूर्ण यात्रामा आफूलाई उम्दा साबित गर्न सबैभन्दा बढी त मुख्य सत्ता साझेदार नेकपा एमालेको साथ र सहयोग पाउनुपर्नेछ । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको अलि चर्को शैली र राजा र हिन्दु राज्य स्थापना गर्ने महत्त्वाकाङ्क्षा बोकेको दल राप्रपाको सहयोग पनि नयाँ गठबन्धनलाई अघि बढाउन महत्त्वपूर्ण कडीका रूपमा रहनेछ । यस्तै, विपक्षमा रहेको नेपाली काँग्रेसबाट रचनात्मक सहयोग लिन सक्नु पनि उहाँका लागि अर्को चुनौती हुनेछ ।
कहिले आलोकाँचो निर्णय गरेका कारण त कहिले आफ्नै निर्णयमा लामो समय नटिकेको भनेर आलोचना बेहोर्नु परिरहेका प्रचण्डले तेस्रो कार्यकालमा कस्तो परिपक्वता देखाउनुहुने हो त्यसलाई चासोका साथ हेरिएको छ । कुनै समय आफैँले विरोध गरेको पोसाक दौरा सुरुवालमा शपथ ग्रहण गरेर कतिपयलाई ‘सरप्राइज’ दिएका नवनियुक्त प्रधानमन्त्री प्रचण्डले काममा कस्तो ‘सरप्राइज’ दिनुहुने हो त्यो आम नागरिकका लागि चासोको विषय बनेको छ । र, यी सबैका लागि उहाँसँग साढे २ वर्षको समय मात्र बाँकी छ ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९, १९:४९