काठमाडाैँ । नेपाल वायुसेवा निगमले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा उडान थप गरेको छ । निगमले कर्णालीका चार र सुदूरपश्चिमको एक गरी पाँच जिल्लामा उडान थप गरेको हो । निगमको क्षेत्रीय केन्द्र नेपालगन्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठले यात्रुको चाप वृद्धि र भरपर्दो सडक यातायात नभएका कारण उडान थप्नुपरेको बताउनुभयो ।
हुम्ला जिल्ला हालसम्म सडक यातायात नजोडिएको जिल्ला हो । हुम्लाको सिमकोमा सातामा दुई उडान भइरहेकामा एक उडान थप गरिएको छ । सिमिकोटका लागि आइतबार, सोमबार र मङ्गलवार उडान हुनेछ । अन्य चार जिल्लामा सातामा एक उडान भइरहेकामा अब दुई उडान हुनेछन् ।
नेपालगन्जबाट जुम्ला सोमबार र मङ्गलवार, मुगुको ताल्चा आइतबार र मङ्गलवार, डोल्पाको जुफालमा सोमबार र बुधवार तथा बाजुराको कोल्टी विमानस्थलमा सोमबार र बुधवार उडान हुने श्रेष्ठले जानकारी दिनुभयो । यसअघि निगमको जहाज हप्तामा एक रात नेपालगन्जमा रहँदै आएकामा अहिले भने तीन दिन बस्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९, ११:५७