चितवन । धड्कन भित्र लुकाई देऊ न भित्री मनको तरेलीमा
नजर अरू झुकाइ देऊ न बास बस्छु परेलीमा........
दिलीपकुमार महतो १२ वर्षदेखि यसरी नै गीत गुनगुनाउँदै टाँगा चलाउनुहुन्छ ।
उहाँको यो यात्रामा सबैभन्दा नजिकको साथी बनेको छ सेतो घोडा, जसको नाम उहाँले राख्नुभएको छ 'विपना' ।
हो, यही 'विपना' ले ५३ वर्षका दिलीपकुमारको आम्दानीको सपना साकार पारिरहेको छ । चितवनको सौराहामा विपनाले दौडाउने टाँगाको आम्दानीले बिपनाको ज्यान र दिलीपकुमारको परिवार पालिएको छ ।
हरेक दिन बिपनालाई अघाउन्जेल दानापानी र आफू खाजा खाएर निस्कने उहाँ साँझ घर फर्कनुहुन्छ ।
टाँगा तान्न बिपनालाई गाह्रो त हुन्छ तर दिलीपकुमारका लागि भने यो धेरै गाह्रो काम होइन । गाह्रो काम गर्न नसकेर आफूले टाँगा चलाउन थालेको उहाँले सीआईएनसँग बताउनुभयो ।
काठमाडौँ र पोखरापछिको प्रमुख पर्यटकीय गन्तब्य बन्दै गएको सौराहामा आजभोलि पर्यटक बढी रहेका छन् । एक सीँगे गैँडा हेर्नु र जङ्गल तथा हात्ती सफारी गर्नु सौराहा पुग्ने पर्यटकको मुख्य उद्देश्य हो ।
तिनै पर्यटकलाई सौराहा आसपासमा घुमाएर टाँगा दिलीपकुमार जस्ता चालकहरू जीविका चलाइरहेका छन् ।
सौराहा घुम्न आउने पर्यटकका लागि टाँगा चढ्नु नौलो अनुभूति सँगाल्नु पनि हो । अनि टाँगा व्यवसायीका लागि आम्दानीको स्रोत । टाँगाबाट दैनिक १० देखि १५ सय रुपैयाँसम्म आम्दानी हुने उहाँ बताउनुहुन्छ ।
कुनै समय टाँगा र बग्गी यातायातका प्रमुख साधन थिए ।
तर अचेल थरी थरीका सवारीसाधनले टाँगालाई विस्थापन गर्दै लगेका छन् ।
आधुनिक सवारीसाधनका कारण टाँगा व्यवसाय विस्थापित हुने अवस्था रहेकोले उहाँलाई दुख लागेको छ ।
बाजेको पालादेखि टाँगा चलाउँदै आएका टाँगा चालकहरू पनि कमाइबाट घर खर्च चलाउन गाह्रो पर्दै गएको गुनासो गर्छन् ।
कुनै समय चितवनको सौराहामा झन्डै ६० वटा टाँगा चल्थे ।
तर, अहिले १० वटा मात्रै छन् ।
टाँगाको स्थान रिक्सा, विद्युतीय रिक्सालगायत सवारी साधनले लिएको टाँगा व्यवसायी सञ्जय मुखिया बताउनुहुन्छ ।
स्थानीय सरकारले सहयोग गरेर व्यवसाय व्यवस्थित गरिदिनुपर्ने टाँगा चालक बताउँछन् ।
सौराहामा थरि थरिका मोटर गाडीको घ्यारघ्यार घुरघुर बढ्दै जाँदा टाँगाको टक टक भने मधुरो हुँदै गएको छ ।
रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९, १८:५३