काठमाडाैँ । विश्वप्रसिद्ध फुटबल खेलाडी पेलेको निधन भएको छ । ८२ वर्षका विख्यात खेलाडी पेले लामो समयदेखि क्यान्सरबाट पिडित हुनुहुन्थ्यो । उहाँको उपचारकै क्रममा ब्राजिलमा निधन भएको बीबीसीले जनाएको छ ।
क्यान्सरका साथै मिर्गौला र मुटुसम्बन्धि समस्याबाट पनि पीडित भएपछि पेले गएको महिनादेखि अस्पताल भर्ना हुनुभएकाे थियो ।
उहाँकै नेतृत्वमा सन् १९५८, १९६२ र १९७० मा ब्राजिललाई विश्वकप फुटबलको उपाधि जितेकाे थियो । चार विश्वकप खेलेकाे पेलेकाे नाममा तीन पटक विश्वकप जित्ने एक्लो खेलाडीको कीर्तिमान छ । उहाँले सन् १९७१ मा ब्राजिल राष्ट्रिय टिमबाट सन्यास लिनुभएको थियो ।
२१ वर्ष फुटबल जीवनमा पेलेले एक हजार तीन सय ६३ खेलमा एक हजार दुई सय ८१ गाेल गर्दै विश्व कीर्तिमान राख्नुभएको छ । यसबाहेक उहाँको नाममा धेरै विश्व कीर्तिमान छन् ।
पेले ब्राजिलको मिनास गेराइस सहरमा १९४० अक्टोबर २३ मा जन्मनुभएकाे थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९, ०६:१३