काठमाडौँ । गुरुङ समुदायका नागरिकले आज ल्होसार पर्व मनाउँदैछन् ।
गुरुङ समुदायमा पुरानो वर्षलाई विदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने हेतुले पुस १५ मा यो पर्व मनाउने चलन छ ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको जानकारहरू बताउँछन् ।
तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउँछन् ।
आजको दिन गुरुङ समुदायका महिला शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुष टोपी, भोटोमाथि भाङ्ग्रा, कछाड अनि पटुकी बाँधेर सजिन्छन् ।
यस अवसरमा घाटु, सोरठी, कौडाजस्ता परम्परागत नृत्य गर्दै रमाइलो गरिन्छ ।
सरकारले तमु ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएका अवसरका रूपमा हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका जिल्लामा यो पर्व धूमधामसँग मनाउने गरिन्छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९, ०९:०१