ताप्लेजुङ। ताप्लेजुङमा गुरुङ समुदायको पर्व तमु ल्होसार मनाइएको छ । विभिन्न समुदायको सद्भावपूर्ण सहभागितामा ल्होसार मनाइएको हो । ल्होसारको अवसरमा खेलकुद, सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन, र्याली लगायत कार्यक्रम गरिएको थियो ।
तमु ह्युल छोँज धिँ (गुरुङ राष्ट्रिय परिषद्) ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा अन्य जातजातिका मानिस समेत मौलिक भेसभुसासहित सहभागी भएर सांस्कृतिक नृत्य प्रदर्शन गरेका थिए ।
फुङ्लिङका बासिन्दाले आफ्नो घर अघि पानीसहितको घडा राखेर बजारलाई झकिझकाउ बनाएका थिए । यहाँ विशेष प्रकारका मेला महोत्सव तथा कार्यक्रममा बजारवासीले सरसफाइसहित घडा राखेर बजारलाई झकिझकाउ बनाउने गरेका छन् । जातजाति तथा समुदाय विशेष चाडपर्वका अवसरमा हुने कार्यक्रममा यहाँका एक अर्का जातजाति तथा समुदायको उल्लेख्य सहभागिता देखिने गरेको छ ।
ल्होसारका अवसरमा गत पुस १३ गतेदेखि नै बुद्धिचाल, भलिबल, ब्याडमिन्टन, दौड लगायतका प्रतियोगिता भएका थिए । आज र्यालीसहित बजार परिक्रमा लगायतका कार्यक्रमपछि तोक्मेस्थित भीमकाली गुल्मको खेलमैदानमा विभिन्न झाँकी प्रदर्शनीसहित सांस्कृतिक कार्यक्रमका ल्होसार विशेष कार्यक्रमको समापन भएको छ । कार्यक्रममा गुरुङ समुदायको उत्थान र विकासमा सहयोग पुर्याउने व्यक्ति लगायतलाई सम्मान र खेलकुदका विजेता साथै उप विजेतालाई पुरस्कार वितरण गरिएको थियो।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९, १८:२०