धनकुटा । 'सामुदायिक प्रसारणमा आदिवासी, जनजातिका मुद्दा' विषयक राष्ट्रिय परामर्श कार्यक्रम आजबाट धनकुटाको हिलेमा सुरुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको आयोजनामा भएको कार्यक्रमको प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गर्नुभयो ।
मुख्य मन्त्री राईले सामुदायिक रेडियोसँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो । सरकारकाले सञ्चालन गरेका हरेक गतिविधिहरू आम समुदायमा पुर्याउने एउटा प्रभावकारी सञ्चार माध्यम सामुदायिक रेडियो भएको हुँदा यसको प्रबद्र्धनका लागि प्रदेश १ सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा मिसिगन विश्वविद्यालय संयुक्त राज्य अमेरिकाका प्रा डा महेन्द्र लावतीले विविधता भनेको देशको सम्पत्ति भएको उल्लेख गर्दै त्यसको संरक्षणका लागि सबैबीच सहकार्य गरिनुपर्ने धारणा राख्नुभयो ।
विविधतालाई सम्पत्तिको रूपमा हेरिएन भने देश सम्वृद्धिको बाटोमा नजाने उहाँको भनाइ थियो । राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सीनाले सबै सरोकारवाला निकायहरू संयूक्त रूपमा एकताबद्ध भएर लागे मात्र सरकारले लिएको ‘सम्वृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक बनाउन सकिने बताउनुभयो ।
आवाजविहीनहरूको आवाजलाई रेडियोले उठाउने हुँदा रेडियो नै नेपालको सन्दर्भमा प्रभावकारी सञ्चारको साधन भएको टिप्पणी गर्दै उहाँले रेडियोहरूले समावेशीको विषयलाई प्रमुख प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेश १ का संसद इन्द्रमणि पराजुलीले सामुदायिक रेडियोकर्मीले उठाएका हरेक विषयबस्तुले सरकारका जिम्मेवार निकायलाई सोच्न बाध्य बनाउने तागत रहेको बताउनुभयो ।
सरकारका हरेक गतिविधिलाई खबरदारी गर्ने रेडियोर्मीहरूले आदिवासी जनजातिको मुद्दालाई पनि महत्वपूर्ण रूपमा उठाउनका लागि आग्रह गर्नुभयो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले रेडियोले विविधतालाई एकतामा बाँध्ने काम गरेको धारणा राख्नुभयो । स्थानीय निकाय सामुदायिक रेडियोसँग सधैँ सहकार्य गरेर अगाडि बढ्ने र रेडियोको विकास र प्रबद्र्धनको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल पत्रकार महासङ्घ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईले सामुदायीक रेडियोलाई प्रभावकारी बनाउनका लागि नागरीकको आवाजलाई सही रूपमा सम्प्रेषण गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।
नेपाल आदिवासी जनजाति जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईले आदिवासी जनजातिको स्थानीय भाषाभाषीमा पनि कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आदिवासी जनजातीका मुद्दालाई सरकारले गम्भीर भएर निर्णय लिन आग्रह गर्नुभयो । सामुदायायीक रेडियोले स्थानिय भाषा संस्कृति संरक्षण गर्नका लागि सामुदायिक रेडियोले महत्वपूर्ण भूभिका खेलेको सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अध्यक्ष सुवास खतिवडाले बताउनुभयो ।
सामुदायीक रेडियो प्रत्येक नागरिक पहुँचमा रहेकोले रेडियोले स्थानीयतालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । समाज रूपान्तरणका लागि सामुदायिक रेडियोले महत्वपूर्ण भुभिका खेल्ने हुँदा यो अभियानमा सबै रेडियोकर्मी लागि पर्नुपर्नेमा जोड दिनुभयो । सरकारको हरेक कामकारबाहीको सूचना सहज रूपमा नागरिक समक्ष पुर्याउने माध्यमको रूपमा सामुदायिक रेडियोले भूभिका निर्वाह गरीरहेको हुँदा यसको विकासको लागि सरकारको नीतिमा नै राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो र आदिवासी जनजातिको बीचमा अन्तरसम्बन्ध, सामुदायिक रेडियो र आदिवासी जनजातिको बीचमा अन्तरसम्बन्ध सम्बन्धी ऐतिहासिक पृष्ठभूमी, सामुदायिक रेडियो र आदिवासी जनजातिको बीचमा अन्तरसम्बन्ध सम्बन्धी अन्तर्राष्ट्रिय अनुभव, आदीवासी जनजातीको भाषा संरक्षणमा भएका प्रयास तथा सरोकारवालाहरूको भूमिका, आदिवासी जनजातिको भाषा संरक्षण तथा अन्तर्राष्ट्रिय आदिवासी जनजाति भाषा वर्ष र आदिवासी जनजातिको भाषा संरक्षण, आदिवासी जनजातिको सशक्तिकरणका लागि सामुदायिक रेडियोको भूमिका र अबको बाटोलगायतका विषयमा छलफल गरिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६, १५:५०