पाल्पा । ढाकाको राजधानी घोषणा गरे पनि सरकारले ढाका कपडाको प्रवर्द्धनका लागि कुनै भूमिका नखेलेको भन्दै पाल्पाली ढाका व्यवसायीले दुःख व्यक्त गरेका छन् ।
२०७८ चैत १२ गते तामझामका साथ कार्यक्रम आयोजना गरेर पाल्पालाई ढाकाको राजधानी घोषणा गरिएको थियो । तर राजधानी घोषणा गरेपछि यहाँका व्यवसायीलाई थप व्यावसायिक बनाउन केही कार्यक्रम नआएको व्यवसायीको गुनासो छ ।
ढाकाको राजधानी भनेर घोषणा गर्ने काम मात्रै भएको तानसेनकै ढाका व्यवसायी सितम भण्डारीको भनाई छ । “ढाकाको राजधानी घोषणा भएपछि यहाँका उद्यमीलाई प्रविधि, सिप, आधुनिकीकरणलगायतका क्षेत्रमा सहयोग गरेर ढाकाको प्रवर्द्धन होला भन्ने सोचिएको थियो” व्यवसायी भण्डारीले भन्नुभयो, “तर यो औपचारिक कार्यक्रममा मात्र सीमित भयो, थप कार्यक्रम केही भएन । पहिले जसरी चलेको थियो, अहिले पनि त्यसै गरी चलेको छ ।”
स्थनीय सरकारले पनि राजधानीका लागि थप कार्यक्रम ल्याउन सकेका छैनन् । संघीय सरकारले कुनै कार्यक्रम नदिएको पालिकाका जनप्रतिनिधिको गुनासो छ । “ढाकाको राजधानी घोषणा भए पनि हामीले केही फाइदा लिन सकेका छैनौँ, केन्द्रीय सरकारले ढाकाको प्रवर्धनका लागि बजेट थप हुनेदेखि केही कार्यक्रम आउलान् भन्ने आशा थियो तर केही पनि भएन ।” तानसेन नगरपालिका ६ का वडाध्यक्ष सागरमान महर्जनले भन्नुभयो, “घोषणा गर्ने काम बाहेक केही पनि भएन ।”
तानसेनमा आयोजित घोषणा कार्यक्रममा लुम्बिनी प्रदेश कानुन महिला तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले ढाका राजधानीको उद्घाटन गर्नुभएको थियो । मन्त्री घर्तीले ढाका उत्पादकको मनोबल वृद्धि गर्न र ढाका बुन्नेहरूलाई स्वरोजगार र उद्यमी बनाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारबिच सहकार्य गर्ने बताए पनि त्यसपछि कुनै योजना आएन । घोषणा कार्यक्रममा मन्त्री घर्तीले ढाका कपडाको राजधानीका रूपमा विकास गरिएपछि यसको कारोबार बढ्ने जनाउँदै महिलाको सीप विकास गरी उद्यमशीलता विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको थियो ।
पाल्पालाई ढाकाको राजधानी घोषणा गरिएपछि पाल्पाली ढाकाको उत्पादनमा सरकारले सहयोग गर्ला भन्ने यहाँका व्यवसायीको अपेक्षा पनि थियो । तर सरकारले घोषणा गरेपछि फर्केर पनि हेरेन । यहाँको प्रविधि विकास, आधुनिकीकरण, सिप विकास, बजारीकरणमा सहयोगलगायतका क्षेत्रमा सरकारको कुनै पनि कार्यक्रम ल्याउने चासो भएन । यहाँका जनप्रतिनिधिले पनि यसबारेमा चासो नदिएको व्यवसायीको आरोप छ ।
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९, १८:०६