काठमाडौँ । अहिलेको राजनीतिक अवस्थाका बारेमा धारणा बनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक आज सकिने भएको छ ।
बैठक पार्टी कार्यालय तीनकुने काठमाडौँमा बिहान ११ बजे आज पनि बस्दैछ ।
प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार हिजोको बैठकमा ३१ जना नेताले धारणा राखेका छन् भने आज १५ देखि २० जनाले धारणा राख्ने सम्भावना छ ।
पोलिटब्यूरो सदस्यले राखेका विचार, जिज्ञासाको बारेमा अध्यक्ष माधवकुमार नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाललगायतले जवाफ दिएपछि बैठक सक्ने तयारी भएको खतिवडाले जानकारी दिनुभयो ।
सरकारमा जाने वा नजाने भन्ने बारेमा निर्णय नभए पनि सरकारमा रहेका दलहरुले संवाद सुरु गरेमा आवश्यक निर्णय गर्ने गरी बैठक सक्ने तयारी भइरहेको एक नेताले बताए ।
'नेकपा एसलाई सरकारमा सामेल गराउनुपर्छ भन्ने बारेमा कुनै निर्णय पनि सत्ता गठबन्धनले गरेको छैन । अनौपचारिक रुपमा कुनै प्रस्ताव नआएर निर्णय गर्नु राम्रो पनि हुँदैन ।'ती नेताले भने ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९, ०८:१८