काठमाडौँ । आफू उत्पत्ति भएको स्थानभन्दा भिन्न हावापानीमा पनि हुर्कने बाह्य मिचाहा वनस्पति नेपालमा प्रवेश गरेको २ सय १० वर्ष भयो । नेपालमा सन् १८२० मा पहिलो पटक मिचाहा वनस्पतिका रूपमा अमेरिका उद्गम रहेको करौँते घाँस भेटिएको थियो । त्यसयता नेपालमा करौँते घाँस जस्तै मिचाहा प्रकृतिका २९ प्रजाति भेटिएका छन् ।
२० वर्ष अघि झापा र मोरङका केही बस्तीमा त्यसअघि कहिल्यै नदेखिएको बिरुवा देखा पर्यो । खेतबारीदेखि वन क्षेत्रसम्म फैलिँदै गएको त्यो बिरुवा थियो, खराब मिचाहा प्रजाति उल्टा काँडा । उल्टा काँडालाई उखेलेर फाल्न खोज्दा मानिसको छालामा एलर्जी हुन थाल्यो । उल्टा काँडा खुवाउँदा ३ सयभन्दा बढी पशु मरे, यसबाट किसानलाई एक करोडभन्दा बढीको क्षति भयो । अर्जुनधारा नगरपालिका ३ अमलडाँगीका जानुका गहतराजका पनि २ हल राँगा मरे । राँगा किन्न लिएको ऋण अझै तिर्न बाँकी छ । ‘पहिला त थाहै भएन नि, गाउँमा पशु मर्न थाले, किन मरे भनेर सोधिखोजी गर्याैँ,’ अनि कसरी थाहा पाउनु भयो त ? भन्ने प्रश्नमा जानुका भन्नुुहुन्छ, ‘पछि डाक्टरले भने नि, उल्टा काँडा खाएर मरेका रहेछन् ।’
ऋण गरेर पालेका पशु मरेपछि जानुका जस्तै धेरै महिलाले पशुपालन गर्नै छाडेका छन् । झापा र मोरङमा मात्रै होइन मिचाहा प्रजातिका वनस्पति ७० जिल्लामा फैलिएका छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयूसीएन) ले सन् २००० मा प्रकाशन गरेको विश्वका अति खराब मिचाहा प्रजातिका सय प्रजातिमध्ये नेपालमा ६ प्रजाति देखिएका छन् । बाहिरबाट भित्रिएर नेपालमा हुर्कि बढेका २९ समस्याग्रस्त प्रजातिमध्ये वनफाँडा, सेतो, कालो र लहरे बनमारासहित १४ प्रजाति वन क्षेत्रमा फैलिरहेका छन् ।
अनुसन्धानकर्ता डा. भरतबाबु श्रेष्ठ बाह्य मिचाहा वनस्पतिले स्थानीय प्रजातिलाई विस्थापित गर्दा जङ्गलमा आश्रित सबैलाई असर गरिरहेको बताउनुहुन्छ । ‘घाँसे मैदानमा मिचाहा प्रजाति फैलिएको कारणले गर्दा चितवन राष्ट्रिय निकुञ्जमै पनि गैँडाको वासस्थानलाई समस्या परेको छ’ श्रेष्ठ भन्नुहुन्छ ‘यसले बाघजस्ता ठुला जनावरलाई पनि असर गर्छ किनभने बाघले खाने भनेको मृग, खरायोलगायत जनावर हुन् उनीहरूको आहाराका लागि घाँसै मैदान चाहियो, तर अहिले घाँसे मैदानमा घाँसभन्दा पनि मिचाहा प्रजाति धेरै छन् ।’ यसले हाम्रो स्थानीय जैविक विविधतामा पनि असर गरिरहेको उहाँको भनाइ छ ।
मानव बस्ती, खुल्ला क्षेत्र, घाँसे मैदान हुँदै जङ्गल क्षेत्रमा बाह्य मिचाहा वनस्पति प्रवेश गर्दा थुप्रै किसिमका समस्या देखिन थालेका छन् । सन् २०१९ मा सार्वजनिक गरिएको अध्ययनअनुसार जलवायु परिवर्तनसँगै बाहिरबाट आएका मिचाहा प्रजातिका वनस्पति फैलिने क्रम बढिरहेको छ । जसमा ७५ प्रतिशत मिचाहा प्रजाति जलवायु परिवर्तनको कारणले फैलिने सम्भावना रहने उल्लेख गरिएको छ । उच्च तापक्रममा अझ बढी फैलने भएकाले यी प्रजाति नयाँ ठाउँमा अनि गर्मी भेगबाट हिमाली र पहाडी क्षेत्रमा फैलिँदै छन् ।
बाह्य मिचाहा प्रजातिका वनस्पति फैलिँदै जानुको एउटा कारण जलवायु परिवर्तन पनि भएको अध्ययनहरूले देखाएका छन् । जल तथा मौसम विज्ञान विभागले ४३ वर्षको अवधि समेटेर २०१७ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालको औसत अधिकतम तापक्रम बर्सेनि ० दशमलव ०५६ डिग्रीले बढिरहेको छ । जलवायु परिवर्तन तथा अनुकूलन विज्ञ डा.उत्तमबाबु श्रेष्ठ भन्नुहुन्छ, ‘आफै स्थानीय प्रजातिभन्दा बढी फैलिन सक्ने क्षमता रहेको बाह्य मिचाहा प्रजातिलाई जलवायु परिवर्तनले सघाउ पुर्याउँछ । थुप्रै अनुसन्धानले चाहिँ जलवायु परिवर्तनले चाहिँ बाह्य मिचाहा प्रजातिको वासस्थानलाई फैलाउनलाई मद्दत गर्ने देखिएको छ ।’ वनस्पति विभागले २०७७ सालमा जैविक विविधता ह्रासको प्रमुख कारण मिचाहा वनस्पति भएको निष्कर्ष निकालेको थियो । मिचाहा वनस्पतिका कारण कृषि र वनको चरण क्षेत्रको उत्पादकत्व घटाउनुका साथै जडीबुटी लगायत गैर काष्ठ वन पैदावारको उत्पादन र गुणस्तर समेत घटिरहेको छ । तर, यो विषय सरकारको प्राथमिकतामा भने पर्न सकेको छैन ।
मिचाहा प्रजातिका वनस्पतिको पहिचान र नियन्त्रण गर्न वनस्पति तथा वनस्पति स्रोतसम्बन्धी विधेयक अलपत्र छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले कार्य योजना नै बनाएर बर्सेनि मन्त्रीपरिषद्मा पेस गर्ने गरे पनि पारित भएको छैन । केन्द्रका उपसचिव सुनिता उलक मिचाहा प्रजातिको व्यवस्थापन गर्न ढिला गर्न नहुने बताउनुहुन्छ । ‘अब पनि ढिला भयो भने चाहिँ यसको व्यवस्थापन गर्न पक्कै गाह्रो हुनेछ,’ उलकले भन्नुभयो । यसका लागि पहिला अध्ययन अनुसन्धान गरि त्यसबाट प्राप्त तथ्यलाई आधार मानेर त्यसको आधारमा व्यवस्थापन तर्फ लाग्नुपर्ने देखिन्छ ।’ देश बाहिरबाट भित्रिएका मिचाहा प्रजातिका वनस्पतीले आफ्नो क्षेत्र विस्तार गर्दै जाँदा नेपालमा भने पर्याप्त अनुसन्धान समेत हुन सकेको छैन । यसका असर कम गर्ने योजनाबारे त कुनै चासो नै देखाइएको छैन । यसबारे सरकार समयमै गम्भीर नबने पछुताउनुपर्ने अनुसन्धानकर्ता बताउँछन् ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९