काठमाडौँ । स्नातकोत्तर अध्ययनका लागि विदेश जाने सोचका साथ राहदानी बनाउन अर्घाखाँचीका सागर पोखरेलले अनलाइनबाट फारम भर्न प्रयास गर्नुभयो । तर, राहदानी विभागले तोकेको समयभित्रै दुई दिनसम्म लगातार प्रयास गर्दा पनि फारम भर्न सक्नुभएन । कति दिनपछि फारम भर्न सकिएला भन्ने टुङ्गो नभए पछि उहाँले फेसबुकमा राहदानीको फारम भरिदिने व्यक्ति खोज्नुभयो । इ–पासपोर्ट नाम गरेको एउटा समूह (फेसबुक ग्रुप) फेला परेपछि त्यहीँ एक जनासँग फारम भरिदिए बापत २ हजार रुपैयाँ दिए पछि फारम भरिएको उहाँ बताउनुहुन्छ ।
ग्रुपमा मैले तीन जनासँग कुरा गर्दा कसैले चार हजार, कसैले तीन हजार अनि कसैले दुई हजार मागे’ अनि मैले दुई हजार तिरेर राहदानीको फारम भरेँ’ सागरले सीआईएनसँग भन्नुभयो । अनलाइन प्रणालीबाट फारम भर्न मिल्ने बनाएर राहदानी विभाग प्रविधिमैत्री हुन खोज्नु सकारात्मक भए पनि प्रविधिका नाममा सर्वसाधारणले सास्ती पाएकोप्रति विभागले वास्ता नगर्नु चिन्ताको विषय भएको उहाँको भनाइ छ ।
ओखलढुङ्गाका कविता पौडेल मौसमी कामदारका रुपमा बेलायत जाने योजना बनाएर राहदानी बनाउन काठमाडौँ आउनुभयो । तर आफूलाई अनलाइनबाट फारम भर्न नआए पछि पैसा तिरेर भर्नुपरेको उहाँले सुनाउनुभयो । ‘यसै पनि मलाइ अनलाइनको काम धेरै आउँदैन, अब त्यसमाथि साथीहरूले पनि आफैँ फारम भर्नै सकिन्न भने, अनि पैसा तिर्नु परेन त ? कविताले प्रतिप्रश्न गर्नुभयो ।
काभ्रेपलाञ्चोकका विकास थिङ तामाङले राहदानीको फारम भर्न ४ हजार रुपैयाँ तिर्नुभयो । ‘भन्दा नराम्रो सुनिन्छ तर यो त अति नै हो नि, उहाँले आक्रोश पोख्नुभयो, मैले फारम भर्नै ४ हजार रुपैयाँ तिर्नुप¥यो’ यो कुरा सबैलाई थाहा होला तर खै त सुधारको पहल गरेको ? राहदानी लिन विभागमा पुग्नेहरूमध्ये धेरैजसोले कम्तिमा दुई हजारदेखि ४ हजारसम्म पैसा तिरेर फारम भरेका छन् ।
राहदानी विभागले दैनिक दिउँसो साढे तीन बजेबाट फारम भर्न पाइने तालिका सार्वजनिक गरेको छ । यो समयभित्र दैनिक दुई हजार जनाले मात्रै फर्म भर्न पाउने व्यवस्था छ । कोटा सकिनासाथ विभागको प्रणाली बन्द हुन्छ । तर, १० हजारभन्दा बढीले एक साथ प्रयास गर्छन् । तर अचम्म चाहिँ के छ भने अनलाइनमा वा साइबरहरूमा पैसा तिरे पछि चाहिँ सजिलै फारम भर्न सकिन्छ । सेवाग्राही भन्छन् ‘सोही समयमा हामीले फर्म भर्न खोज्दा सक्दैनौँ अनि फेरि त्यही समयमा पैसा दिने बित्तिकै बिचौलियाहरूले कसरी फर्म भर्छन् ?’
नागरिकले भोगेको यो सास्तीबारे राहदानी विभाग लगभग बेखबर जस्तै छ । सर्वसाधारणले आफू ठगिएको अथवा फारम भर्नकै लागि हजाराँै रुपैयाँ तिर्नु परेको गुनासो विभागमा हालसम्म नआएको विभागका अधिकारीहरू बताउँछन् । यद्यपी राहदानी विभाग वरपर र गोङ्गबु, कलङ्की लगायतका मुख्य क्षेत्रमा रहेका साइबरसहितउ बिचौलियालाई पक्राउ गर्न अपरेसन चलाइरहेको छ । हालसम्म केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ३० जनालाई पक्राउ गरिसकेको छ ।
विभागका प्रवक्ता दुरपदा सापकोटाले राहदानी बनाउने क्रममा आफूलाई आइपरेका समस्याबारे आफूहरूलाई जानकारी गराउन अनुरोध गर्नुभयो । ‘फर्म भर्दा बढी पैसा तिर्नुभएको छ भने स–प्रमाण हामीलाई जानकारी गराउनुस् न त्यस्ता व्यक्तिलाई हामी कारबाही गर्छौँ’ ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९, १८:४२