काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले हिजोको खेलपछि आफ्नो टिमका एकजना खेलाडीलाई फिक्सिङका लागि कसैले प्रस्ताब गरेको बताएपछि नेपाली क्रिकेटमा तरङ्गित बनेको छ ।
काठमाडौ । सुरु नहुँदैदेखि विवादमा तानिएको नेपाल टी–ट्वेन्टी लिगबारे फेरि अनेकौँ प्रश्न उठेका छन् । नेपाली क्रिकेटको उपल्लो निकाय नेपाल क्रिकेट संघ क्यानले नै आयोजना गरेको प्रतियोगितामा सहभागी खेलाडी र अधिकारीले पारिश्रमिक नपाएको मात्र होइन खेल मिलेमतो नै भएको गम्भीर आरोप लागेको छ ।
पटक पटक मिति सर्दै सुरु भएको नेपाल टी ट्वेन्टी क्रिकेट लिगको ११ औं दिनसम्म आईपुग्दा, केही विदेशी खेलाडी र प्रशिक्षक घर फर्किएका छन् । पारिश्रमिक नपाएको भन्दै खेलाडीले खेल्न नमाने पछि हिजो काठमाडौँ र बिराटनगरका खेलाडीलाई बल्लतल्ल मनाएर खेल खेलाइए पनि आयोजक नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताको विश्वसनीयता माथि उठेका गम्भीर प्रश्नको जवाफ दिन सकेको छैन ।
अझ, काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले हिजोको खेलपछि आफ्नो टिमका एकजना खेलाडीलाई फिक्सिङका लागि कसैले प्रस्ताब गरेको बताएपछि नेपाली क्रिकेटमा तरङ्गित बनेको छ ।
खेल मिलेमतोका लागि खेलाडीलाई प्रस्ताब आएको कुरा सार्बजनिक हुनुअघि नै यो प्रतियोगितामा कमेन्ट्री गरिरहेका सचिन तिमल्सिनाले मैदानभित्र खेलाडीको अस्वभाविक गतिविधि देखिएको भन्दै आफु प्रतियोगिताबाट अलग्गिएको घोषणा गर्नुभएको थियो ।
प्रतियोगिताबारे नेपालका क्रिकेट विश्लेषकले मात्र होइन आयोजक नेपाल क्रिकेट संघ क्यानकै सदस्यले पनि प्रश्न उठाएका छन् । क्यानले ब्यावसायिक र रणनितिक साझेदार बनाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका मालिक नै सम्पर्कविहिन रहेको क्यानका पदाधिकारी नै बताउँछन् । खेल मिलेमतोकै विषय सार्वजनिक हुनु नेपाली क्रिकेट जगतकै लागि लज्जाको विषय बनेको छ । क्यानका बोर्ड सदस्य, छुम्बी लामा यस विषयमा छानबिन हुनुपर्ने बताउनुहुन्छ । कसैले फिक्सिङका लागि प्रस्ताब गरेको भए खेलाडीले सार्बजनिक गर्नु पर्ने र असुन्धानका लागि सघाउनु पर्ने लामाको भनाई छ ।
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले पनि हिजो समाजिक सञ्जालमा लेख्दै नेपाल टी ट्वेन्टी लिगको निष्पक्ष छानविन गर्न माग गर्नुभएको छ । काठमाडौंमा जारी फ्रेन्चाईज क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङको घटना बाहिर आएपछि पूर्व कप्तान खड्काले निष्पक्ष छानविन गरेर दोषीमाथि कडा कारवाही गर्न माग गर्नुभएको हो ।
गृहमन्त्री रवि लामिछानेले समेत नेपाल प्रहरीलाई नेपाल टि–ट्वेन्टी लिगबारे अनुसन्धानका लागि निर्देशन दिनुभएको छ । प्रहरी आफ्नो काममा जुटिसकेको छ । तर, यस्ता घटनाले पछिल्लो समय यसै खस्किँदो अबस्थामा रहेको नेपाली क्रिकेटको साख अझै गिराउने तथा पूर्व खेलाडी तथा क्रिकेट प्रशिक्षक कलाम अली बताउनुहुन्छ ।
नेपाल टी–ट्वेन्टी लिगको प्रायोजक रहेको वान एक्स ब्याट, बेटिङ कम्पनी वान एक्स बेटको सहायक कम्पनी भएकाले पनि लिगमा फिक्सिङ र बेटिङ भइरहेको हुन सक्ने शंका बढाएको छ । यो विषयको प्रभावकारी र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही नगरे नेपाली क्रिकेटको ओरालो यात्रा अझ तिब्र बन्ने विश्लेषकहरु बताउँछन् ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९, ०७:४९