काभ्रे । पनौती नगरपालिका–६ रातमाटेमा स्थानीय समुदायको सहमतिबिनै औषधि उद्योग खोल्न लागिएको भन्दै विरोध भएको छ । उद्योग खोल्न गलत कागजात तयार पारेको तथा वातावरणीय परीक्षण प्रतिवेदनमा समेत अधिकांश विषय झुटो उल्लेख गरिएकाले विरोध गर्नुपरेको स्थानीय बासिन्दा ध्रुवराज आचार्यले बताउनुभयो ।
प्रतिवेदनमा औषधी उद्योग निर्माण स्थलबाट रातमाटे वस्ती ५ सय मिटरको दुरीमा देखाइएको तर, बस्ती भने उद्योग निर्माण स्थलसँगै रहेको उहाँले बताउनुभयो । यसै गरी, भवन निर्माण स्थलमै जोडिएको छिरे खोला नदेखाई ८ सय मिटर टाढाको पुण्य माता खोला देखाइएको, नजिकै रहेको कमलादेवी विद्यालय नदेखाई गोरखनाथ आधारभूत विद्यालय देखाइएको, ओम डाँडामा रहेको स्वास्थ्य चौकी नदेखाई देवस्थान स्वास्थ्य चौकी देखाइएको आचार्यले बताउनुभयो । सञ्चालकले उद्योग स्थापना गर्न दिन धम्कीपूर्ण दबाब पनि दिने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।
कम्पनी सञ्चालक बिग बी फर्मुलेसन प्रालिका अध्यक्ष कम्पोज बडालले भने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्ड अनुसार स्थापना हुने भएकाले स्थानीय बासिन्दालाई कुनै पनि नराम्रो असर नपर्ने दाबी गर्नुभयो ।
बुधवार शिलान्यास गर्ने तयारी गरेको औषधी उद्योग स्थानीय बासिन्दाको विरोध पछि शिलान्यास गरिएन ।
पशुपक्षीको औषधी उत्पादन गर्ने उद्योग स्थापना गर्न लागिएको र उद्योग स्थापना भएपछि रोजगारीको अवसर सिर्जना हुने र औषधी आयातको पुँजी केही भएपनि बाहिरिनबाट रोक्ने उहाँको दाबी छ ।
सुरुमा २० देखी ३० करोड रुपैयाँको औषधी उत्पादन गर्ने र त्यसलाई विस्तार गर्दै १ सय करोडसम्म पुर्याउने कम्पनीको लक्ष्य छ । उद्योगका लागि ४० करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । सुरुमा ४० जनाले र उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा एक सय जनासम्मले रोजगारी प्राप्त गर्ने अध्यक्ष बडालले दाबी गर्नुभयो ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९, १३:२४