पोखरा । पोखरा घुम्न आएका पर्यटकलाई फोटो खिच्न मनाउनु अनि तत्कालै खिचेर दिनु चितवनका निर्मल गौतमको दिनचर्या हो । २२ वर्षका गौतमलाई रोजगारीका लागि विदेश जान मन लागेन । विकल्प खोज्दै जाँदा फोटोग्राफीलाई पेसा बनाउनुभयो । आफ्नै रुचिको विषयलाई पेसा बनाउन पाउँदा उहाँ खुसी मात्र हुनुहुन्न कमाइ पनि राम्रो भइरहेको बताउनुहुन्छ ।
लमुजुङका सन्तोष गैरे पनि दिनहुँ फेवाताल वरिपरि नै भेटिनुहुन्छ । फेवाताल घुम्न आउने पर्यटकका ३ सयभन्दा बढी फोटो खिचेर उहाँ दैनिक ८ हजारसम्म कमाइ गर्ने बताउनुहुन्छ । क्यामेरा र फोटोग्राफीको विकाससँगै पहिले जस्तो फोटो खिचेर धुलाउने चलन हराउँदै गएको छ । तर, सामाजिक सञ्जालका कारण डिजिटल तस्बिरको प्रयोग बढेको छ ।
साढे २ लाख रुपैयाँ जति लगानी गरेर सुरु गर्न सकिने फोटोग्राफी रोजीरोटी मात्र होइन राम्रो आम्दानीको अवसर पनि बनिरहेको तनहुँका समीर कार्की बताउनुहुन्छ । उहाँ पनि फेवाताल आसपासमा पर्यटकको फोटो खिच्ने पेसामा आबद्ध हुनुहुन्छ ।
पर्यटक सबैसँग राम्रो क्यामेरा हुँदैन । क्यामरा हुनेसँग पनि कसैसँग राम्रो तस्बिर खिच्ने सिप हुँदैन । सुन्दर नगरी पोखरा पुगेका बेला सम्झना स्वरूप सकेसम्म राम्रो तस्बिर खिच्न चाहना हुनु स्वाभाविक भएको अछामका हरिबहादुर बुढा बताउनुहुन्छ । आफुले पनि सम्झनाको लागि १० वटा तस्बिरको २ सय रुपैयाँ तिरेर लगेको उहाँले बताउनुभयाे ।
दुई वर्ष अघि सुरु भएको यो पेसामा अहिले फेवातालको १ किलोमिटर दुरी भित्र ३२ जना युवा आबद्ध छन् । रोजगारीको राम्रो विकल्प भए पनि यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता भने रहेको फोटोग्राफर सन्दीप गुरुङ बताउनुहुन्छ ।
रोजगारीका लागि विदेश नै जानु पर्छ भन्ने छैन । वैकल्पिक बाटो खोज्न सके स्वदेशमै आम्दानी गर्न सकिन्छ । फेवाताल आसपास पर्यटकका फोटो खिचेर राम्रो आम्दानी गरिरहेका आफूहरूको जस्तै विकल्प देशका अन्य पर्यटकीय क्षेत्रका युवाले पनि अपनाउन सक्ने उहाँहरू बताउनुहुन्छ ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९, १५:०१