फेरिनुको फरक
...
जब पहाडको टुप्पो बाट
पहिरो खस्दै जान्छ
बिस्तारै पहाडको सौन्दर्य फेरिँदै
कुरूप बन्छ
तर,
कोही मान्छे
कोही मान्छेको
प्रेममा पर्छ
उसको जीवनको सौन्दर्य फेरिँदै
सुन्दर बन्छ ।।
स्पर्शको प्रभाव
...
एक झोक्का
बतासको स्पर्शले
कुनै पातको जीवन सधैँलाई
नासिएर जान्छ
जब कोहीलाई
प्रेमको बतासले
बेस्सरी छोएर जान्छ
तब उसको जीवनमा
प्रेमको नयाँ पालुवा झैँ पलाउँछ ।।
प्रेम
...
प्रेम गर्छु भन्नेहरूले
कहिले प्रेम पत्रमा
प्रेम व्यक्त गरे
कहिले गुलाफको
बुकेहरूले प्रेम पोखे
साँच्चै प्रेम गर्नेहरूले
चुपचाप मनै मनमा
'प्रेम'मात्रै गरिरहे ।।
सुन्दर चित्र
....
म एउटा फगत
क्यानभास थिएँ
तिम्रो प्रेमको
केही थोपा रङ्
ममाथि पोखिए पछि हो
एउटा सुन्दर चित्र भएको ।।
बतास
...
म एउटा झरिसकेको
पात न थिएँ
तिम्रो प्रेमको बतासले
जतन साथ
उडाउँदै उडाउँदै
नयाँ गन्तव्यसम्म ल्याईपुर्याएको छ ।।
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९, १५:४७