काठमाडौँ । महिनावारीका समयमा प्रयोग हुने प्याड नेपालमा नै उत्पादन हुने गरेको भए पनि झण्डै ९० प्रतिशत प्याड आयात हुने गरेको पाईएको छ ।
नेपालमा वार्षिक झण्डै १६ करोड गोटा प्याडको आवश्यकता पर्ने भए पनि स्वदेशी उत्पादनको ३ करोड मूल्य बराबर मात्रै खपत हुने गरेको छ । नेपालमा ४१ करोड गोटा प्याड उत्पादन गर्ने क्षमता भए पनि अहिले स्वदेशी उद्योगको उत्पादन क्षमताको जम्मा ७ प्रतिशत मात्रै प्रयोगमा आएको छ ।
विगत ४ वर्षको अध्ययन अनुसार नेपालमा विदेशबाट प्याड आयात गर्ने क्रम बर्सेनि बढेको छ । नेपाली उत्पादन कम्पनी जस्मिन हाइजिन प्रोडक्टका प्रबन्ध निर्देशक पुनित सरदाका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ६५ करोड रुपैयाँ बराबरको ७ करोड गोटा प्याड आयात भएको थियो भने आर्थिक वर्ष ७३/७४ मा ७३ करोड बराबरको ८ करोड गोटा प्याड आयात भएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ८० करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख गोटा प्याड आयात भएको छ भने आर्थिक वर्ष ७५/७६ मा १ अर्ब ८ करोडको झण्डै १३ करोड गोटा प्याड नेपाल भित्रिएको छ ।
जस्मिन हाइजिन प्रोडक्टका प्रबन्ध निर्देशक सरदाका अनुसार नेपालमा विदेशी प्याड भित्रने क्रम हरेक वर्ष बढेको छ । नेपालमा नै सेनेटरी प्याड उत्पादन भइरहे पनि बाहिरबाट ल्याउनुपर्ने कच्चा पदार्थमा लाग्ने भन्सार दर धेरै भएकाले आवश्यकता अनुसारको उत्पादन गर्न समस्या परेको सरदाले बताउनुभयो ।
१० औँ वार्षिकोत्सवका अवसरमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले आयोजना गरेको ‘मर्यादित महिनावारी अन्तर्क्रिया' कार्यक्रमका अवसरमा उहाँले यो जानकारी दिनुभएको हो ।
कार्यक्रममा महिनावारी व्यवस्थापन सञ्जालका राष्ट्रिय संयोजक गुणराज श्रेष्ठले सुरक्षित महिनावारीका लागि नेपालीहरूमा रहेको गलत धारणा परिवर्तन मुख्य आवश्यकता रहेको बताउनुभयो ।

धर्म र सस्कृतिका नाममा जोडिएका गलत धारणाहरू परिवर्तन गर्दै लैजान सके महिनावारीका विषयमा रहेका गलत परम्परा आफै हट्दै जाने उहाँको भनाइ छ । महिनावारी अर्थात छाउपडी प्रथा विरुद्धमा कानुन बने पनि कार्यान्वयनमा चुनौती रहेको भन्दै श्रेष्ठले यसलाई सङ्घ, प्रदेश र स्थानीय तहको सम्मन्वयमा कानुन कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा १३ वर्षदेखि ४९ वर्षसम्मको किशोरी तथा महिलाहरूको सङ्ख्या झण्डै १ करोड ४० लाख छ । अझैँ पनि महिनावारीका समयमा सफा र सुरक्षित प्याड प्रयोग गर्ने महिलाहरू कम रहेका छन् ।
कार्यक्रममा उपस्थितहरूले गाउँघरमा मात्रै नभई सहर बजारमा पनि छाउ बार्ने चलन रहेको भन्दै यसलाई अन्त्य गर्न जनचेतनाको आवश्यकता रहेको औँल्याएका थिए । मर्यादित महिनावारीका बारेमा आम नागरिकमा सूचना पु¥याउने जिम्मा सामुदायिक रेडियोहरूको भएको पनि सहभागीहरूले बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६