दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक वेपत्ता भएका छन् ।
नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दीपेन्द्र विष्ट तुइनबाट खसेर वेपत्ता भएको स्थानीयबासीले बताएका छन् ।
व्याँस गाउँपालिका–४ खाल्नगर बस्तीमा बसोबास गर्ने डोकटस्थित मेलपाटा टोलका दीपेन्द्र कौनेणी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले जानकारी दिनुभयो ।
घटना गत बिहीबार दिउँसोतिर भएको भए पनि हिजो मात्रै सार्वजनिक भएको हो ।
बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि–पछि गएका दीपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ ।
दीपेन्द्र डोकटस्थित ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९