विराटनगर । नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुनुभएको छ । कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
झापा क्षेत्र नम्बर ५ (१) बाट प्रदेशसभा सदस्यमा पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।
सत्ता गठबन्धनका दलले प्रदेश १ को मुख्यमन्त्री नेकपा एमालेलाई दिने सहमति गरेपछि एमाले संसदीय दलका नेता कार्कीले बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख खापुङसमक्ष दाबी पेश गर्नु भएको थियो ।
यसअघि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका कार्की एमालेको स्थायी समिति सदस्य पनि हुनुहुन्छ ।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९, १७:२४