काठमाडाैँ । गत मङ्सिर ४ मा भएकाे प्रतिनिधि सभाको निर्वाचनपछि बनेकाे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदै छ ।
प्रतिनिधि सभाको निर्वाचनको अन्तिम नतिजा घोषणा भएको ३० दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गर्नुभएको थियो ।
आज दिउँसो १ बजे दुबै सदनको अधिवेशन सुरु हुने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । पहिलो बैठक प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बस्नेछ ।
आजको बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ । अधिवेशनका बैठक यसअघिकै प्रतिनिधि सभाको नियमावलीअनुसार सञ्चालन हुनेछन् ।
पहिलो बैठकबाट प्रतिनिधि सभा नियमावली २०७५ लाई पुनः अनुमोदन गराउने तयारी छ । यसअघि सर्वदलीय बैठकले अर्को व्यवस्था नभएसम्म पुरानै नियमावलीका आधारमा बैठक सञ्चालनको निर्णय गरेको थियो ।
अधिवेशन अन्तर्गत प्रतिनिधि सभामा भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९, ११:४४