दीपक साउद
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका १ मा रहेको गोगाड आधारभूत विद्यालय मल्लाथला शिक्षक अभावमा बन्द भएको छ । विद्यालयमा कार्यरत एक जना शिक्षकलाई पनि नगरपालिका सरुवा भएपछि विद्यालय बन्द भएको हो ।
कक्षा ३ सम्म पढाई हुने विद्यालयमा २१ जना विद्यार्थी रहेको तर त्यहाँ कार्यरत शिक्षक मानमती भट्टलाई नगरपालिकाले वडा नम्बर १ कै मालिकार्जुन आधारभूत विद्यालय थलामा सरुवा गरेपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका संस्थापक हर्कबहादुर खडायतले जानकारी दिनुभयो ।
राहात दरबन्दीमा कार्यरत शिक्षकलाई नगरपालिकाले सरुवा गरिदिएको तर, अर्को शिक्षकको व्यवस्था नगर्दा समस्या भएको उहाँले बताउनुभयो । वडा नम्बर १ का वडा सदस्य रमेश बोहराले नगर शिक्षकका लागि विज्ञापन खोले पनि कसैले दरखास्त नदिएकाले समस्या भएको बताउनुभयो । विद्यालयमा कार्यरत एक जना शिक्षक सरुवा भएको र उक्त विद्यालयमा शिक्षक दरबन्दी नरहेको उहाँले बताउनुभयो ।
उक्त विद्यालयको लागी १ जना बाल विकास सहयोगी र एक जना नगर शिक्षककाे लागी विज्ञापन खोलेको उहाँले बताउनुभयो । बाल विकास सहयोगीको लागी ४ जनाको दरखास्त परेको र नगर शिक्षक पदमा कसैले दरखास्त नदिएको वडा सदस्य बोहराले बताउनुभयो ।
वडा सदस्य बोहराले भने उक्त विद्यालयमा ५-६ जना मात्रै विद्यार्थी रहेको बताउनुभयो। शैल्यशखिर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष भरतबहादुर खडायतसँग टेलिफोन सम्पर्क भने हुन सकेन ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९, १८:४०