काठमाडौं । कलाकारहरुले कला, साहित्य, संस्कार तथा संस्कृति संरक्षणमा सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
आमसञ्चार माध्यम र गीत सङ्गीतबीच सम्बन्ध नङ र मासु जस्तै भएको भन्दै कलाकारहरुले कला साहित्य र गीतसङ्गीतलाई प्राथामिकतामा राख्न सामुदायिक रेडियोलाई आग्रह गरे ।
आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले कार्यालयमै गरेको 'स्रष्टा साक्षात्कार' मा सङ्गीतकार तथा गायक शिशिर योगीले समाजमा सकारात्मक सोचको विस्तार तथा परिवर्तनका लागि सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
गायक तथा सङ्गीतकार शिशिर योगी । भेषभुषा, कला, साहित्य, सङ्गीतमा नेपाल संसारकै धनी देश भएको भन्दै गायक योगीले सामुदायिक रेडियोले समाजका संस्कार, संस्कृतिलाई अङ्गाल्न सक्नुपर्ने आवश्यकता औंल्याउनुभयो । समाजमा रहेका सकारात्मक खालका परम्परागत संस्कृतिलाई जोगाउन सामुदायिक रेडियोले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
वरिष्ठ गीतकार रमेश क्षितिज । वरिष्ठ गीतकार तथा कवि रमेश क्षितिजले सामुदायिक रेडियो नामका मात्रै नभएर काममा पनि हुनुपर्नेमा जोड दिँदै सामुदायिक रेडियोले सामुदायिक रङ्ग बोकेको हुनुपर्ने बताउनुभयो । राजनीति, भौतिक विकास, नकारात्मक विषयलाई मात्रै जोड नदिएर मौलिक विषयहरुलाई पनि आफ्नो प्राथामिकताको विषय बनाउन उहाँले सुझाव दिनुभयो ।
सङ्गीतकार सन्तोष श्रेष्ठ । सङ्गीतकार सन्तोष श्रेष्ठले नेपाली गीतसङ्गीतलाई प्रथामितामा राख्न सामुदायिक रेडियोलाई आग्रह गर्नुभयो । सञ्चारमाध्यम र गीतसङ्गीतको सम्बन्ध नङ र मासुको जस्तै हुने भन्दै सङ्गीतकार श्रेष्ठले समाज र स्रष्टाका बीचमा पनि पुलको सम्बन्ध कायम गर्न रेडियोहरुलाई आग्रह गर्नुभयो ।
गीतकार नृपध्वज खड्का । कार्यक्रममा पुलचौक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक तथा गीतकार नृपध्वज खड्काले रेडियोहरुले भाषाको शुद्धाशुद्धिलाई ख्याल गर्नुपर्ने बताउनुभयो । रेडियोको माध्यमबाट नै नयाँ पुस्ताले सिक्ने भएकाले भाषा र शुद्धाशुद्धिलाई विशेष ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
लोकगायक बिमलराज क्षेत्री । लोकगायक बिमलराज क्षेत्रीले सामुदायिक रेडियोले आफ्नो पहिचान बनाउने खालका समाचार तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । देशभरि सञ्चालनमा रहेका रेडियोहरुले गीतसङ्गीत बजाएबापद थोरै भए पनि रोयल्टी दिनसके कलाकारहरुको पनि सम्मान हुने बताउँदै गायक क्षेत्रीले सञ्चार क्षेत्रले कलाकारहरुलाई सम्मान गरे विदेश पलायनको क्रम पनि रोकिने धारणा राख्नुभयो ।
कार्यक्रममा गायिका टीका प्रसाइले गीत छनोट गर्दा र बजाउँदा सन्देशमूलक सकारात्मक गीत छनोट गर्न सामुदायिक रेडियोहरुलाई सुझाव दिनुभयो । सीआईएनले वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरीरहेको छ ।
यसअघि सीआईएनले सांसदहरुसँग छलफल, मर्यादित महिनावारीका बारेमा अन्तर्क्रिया, समुदायमा सीआईएन नामक छलफल कार्यक्रम गरीसकेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६