काठमाडाैँ । नयाँ निर्वाचन पछि गठन भएको सङ्घीय संसद्को पहिलो अधिवेशन सोमबारबाट सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमा सबै राजनीतिक दलका संसदीय दलका नेताले सम्बोधन गर्दै संसद्को सफल कार्यकालको शुभकामना दिनुभयो । २७५ सदस्यीय प्रतिनिधिसभामा आजको बैठकमा २५६ जना उपस्थित भएको संसद् सचिवालयले जनाएको छ । यस पटक प्रतिनिधि सभामा तीन वटा नयाँ दल छन् ।
संसद्को पहिलो बैठकको दृश्य हेर्दा धेरै कुरा उस्तै रहे पनि केही उत्साह थप्ने खालका पनि थिए ।
शपथ ग्रहणमा जस्तो इन्द्रेणी पोसाकमा नदेखिए पनि सांसदका अनुहारमा खुसी, उत्साह र कौतूहल देखिन्थ्यो । बैठकको घण्टी बज्नुअघि नै सांसद बैठक कक्ष प्रवेश गरिसकेका थिए ।
आजको बैठक ज्येष्ठ सदस्यका रूपमा राप्रपाका पशुपतिशमशेर जबराले सञ्चालन गर्ने यसअघि नै तय भएको थियो । तर, बैठक अघि पर्याप्त तयारी नगरिएकाले पनि होला ज्येष्ठ सदस्यका रूपमा बैठक सञ्चालन गरिरहेका ८१ वर्षका जबरालाई निकै सकस परेको देखिन्थ्यो । उहाँ घरी घरी मुख पुछ्दै निकै असजिलोका बिच बैठक सञ्चालन गरिरहेको दृश्य संसद्को पुरानोपनको झल्को दिने खालको थियो ।
बैठकमा केही रोचक दृश्य पनि देखिए । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसद प्रतिपक्षी बेन्चमा थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो पटक आफूले दुई दुई पटक संसद् विघटन गर्ने निर्णय गर्नु सही भएको जिकिर गर्दै गर्दा अहिले सत्ता साझेदार भएर पनि माओवादी केन्द्रका सांसदले ताली बजाउन मिल्ने अवस्था थिएन । सत्ता गठबन्धनको महत्त्वपूर्ण शक्ति भएकोले पनि हुनसक्छ निर्वाचन अघि आफैँले खिसीटिउरी गरेका नयाँ दलहरूलाई प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री केपी ओलीले पनि मुक्त कण्ठले प्रशंसा गर्नुभयो । यी नयाँ दलले मुस्किलले एकाध सिट जित्लान् कि भन्ने टिप्पणी गरेका ओली र प्रचण्डले नयाँ दलहरू जनताको परिवर्तनको हुटहुटीलाई आत्मसाथ गरेको स्वीकारेको देखिन्थ्यो ।
प्रधानमन्त्री दाहाल र काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले लिखित सम्बोधन गर्नुभएको थियो । देउवाले रोस्टम जाने बाटैमा रहेका प्रधानमन्त्री प्रचण्डसँग हेराहेर गर्न पनि चाहनुभएन । संबोधनमा भने कसैप्रति कटाक्ष नगरीकन उहाँले विकासका लागि हातेमालो गर्ने बताउनुभयो । यसै पनि छोटो बोल्ने नेताका रूपमा परिचित देउवाले लिखित मन्तव्य पाठ गर्दा संसद्को सबैभन्दा ठुलो दल भएर पनि सरकार गुमाउनुको धेरथोर दुख भने देखिन्थ्यो ।
यसअघि सरकार र राजनीतिक दलका हरेक जसो गतिविधिलाई चर्को र आक्रामक स्वरमा गाली गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने आज तुलनात्मक रूपमा नम्र त देखिनुभयो, तर छातीमा हात राखेर कसम खाने शैलीमा उहाँको अभिव्यक्ति संसदीय परम्परामा अलि असुहाउँदो भएको संसद् परिसरमै गाइँगुइँ सुनिथ्यो । चर्को विरोध र आलोचना गरेर प्रशंसक कमाएका लामिछानेलाई गृह मन्त्रीको पद अवसरसँगै चुनौती उत्तिकै हो भन्नेमा शङ्का छैन । त्यसको झल्को उहाँको सम्बोधनमा पनि देखिन्थ्यो । उहाँले संसद्मा सशक्त प्रतिपक्ष नभएको भन्ने आफ्नो दलको ठहर रहे पनि किन सरकारमा जानुको कारण केही बेर लगाएर प्रस्ट्याउनु परेको थियो । उहाँले भ्रष्टाचारविरुद्ध कठोर हुने मात्र होइन यसअघिका भ्रष्टाचारका काण्डबारे छानबिन गर्ने र आफ्नो दलका कुनै पनि सांसद र नेताले अनियमितता नगर्ने कुरा छातीमा हात राखेर भन्नु परेको थियो ।
अघिल्लो पटक सिङ्गो पार्टीबाट आफू मात्रैले प्रतिनिधित्व गर्नुपरेको सम्झँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यस पटक १४ जना सांसदका साथ संसद् प्रवेश गरेकोमा दङ्ग देखिनुहुन्थ्यो । सोचे जति साथीहरू ल्याउन नसके पनि भन्दै गर्दा उहाँमा एक खालको रवाफ पनि देखिन्थ्यो । अघिल्लो संसद्मा पनि प्रभावकारी भूमिका निर्वाह गरेका लिङ्देनको भूमिका यस पटकको संसद्मा अनि चासोका साथ हेरिने नै छ ।
पहिलो पटक संसद्मा प्रवेश गर्दै गरेका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतको सम्बोधनमा विनम्रता र अध्ययनशीलता झल्कन्थ्यो । कुनै समय मेरो नाम मात्रै लिन पनि निशेध गरिएको ठाउँमा आज आफैँ उभिएर बोल्न पाउँदा नयाँ अनुभूति भइरहेको भन्दै भाषण सुरु गर्नुभएका राउतले यो देश निर्माणका क्रममा प्रयोग भएका तलवारका धारहरू मात्र होइन कि, बिसे नगर्चीको सियोसमेतलाई सम्झँदै आफ्नो निर्वाचन क्षेत्रबाट यसअघि प्रतिनिधित्व गर्दै आएका सांसदहरूलाई पनि सम्झनुभयो । अर्को नयाँ दल नागरिक उन्मुक्ति दलका अध्यक्ष रञ्जिता श्रेष्ठले रेसम चौधरीमाथि झुटो आरोप लगाएको दाबी गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आफ्नै मौलिक पारामा संसद्मा पुगेर गर्छु भनेका काम नगरेको प्रति तिखो व्यङ्ग्य गर्नुभयो । उहाँले भ्रष्टाचार गर्दिन कालोबजारी गर्दिन राष्ट्रियतामाथि सौदा बाजी नगर्ने नागरिकको हितमा मात्र काम गर्ने बताए पनि नेताहरूले नै त्यसको पालना नगरेको बताइरहँदा नयाँ सांसदका रूपमा रहेका डा तोसिमा कार्की र शिशिर खनालदेखि पटक पटक मन्त्री भइसकेका जनार्दन शर्मा समेत मुसुमुसु हाँसिरहेको देखिन्थ्यो । सङ्घीयता ठिक नभएको उहाँको जिकिर फरक मतका रूपमा सुनियो ।
झन्डै तीन घण्टा चलेको पहिलो बैठकमा केही नयाँ दल र अनुहार र उनीहरूप्रतिको आशाका कारण पनि फरकपनको छनक देखिन्थ्यो । तर, पटक पटक दोहोरिएका सांसद अनि अब यसो र उसो गर्नुपर्छ भन्ने भाषणले भने संसद्को उही पुरानै झझल्को आउँथ्यो ।
सांसद केसीले भनेजस्तै भन्नलाई त सबैले राम्रो गर्ने नै बताए पनि ब्यवहारमा त्यो देख्न पाइन्छ कि पाइँदैन भन्ने सवाल निकै अर्थपूर्ण रहेको विश्लेषकहरू बताउँछन् । चुनाैतीकाे चाङका बिच संसदले अबकाे कार्यकालमा कार्यसम्पादन कसरी गर्ने हो त्यो भने सबैको चासोको विषय बनेको छ ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९, २१:२८