काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैहुनुहुन्छ ।
आज बिहान ११ बजे बस्ने बैठकमा विश्वसको मत लिनका लागि प्रधानमन्त्रीले दिएको सूचना हिजोको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले सांसदहरूलाई जानकारी गराउनुभएको थियो ।
सरकारलाई समर्थन गरेका सातै राजनीतिक दलले यसअघि नै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।
नेपाली काँग्रेसले बिहान बस्ने संसदीय दलको बैठकबाट प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्ने बारेमा निर्णय गर्ने प्रवक्ता प्रकाशसरण महतले जानकारी दिनुभयो ।
नेकपा एकीकृत समाजवादी पार्टीले पनि बिहान पार्टीको बैठकबाट निर्णय गर्ने नेताहरूले बताएका छन् ।
एमालेका ७९, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका चार सांसदले प्रचण्डलाई विश्वासको मत दिने निश्चित भइसकेको छ ।
स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहले पनि विश्वासको मत दिने बताइसकेका छन् ।
१० सिट रहेको एकीकृत समाजवादी र चार सिट रहेको लोसपाले विश्वासको मत दिए भने सरकारको पक्षमा दुईतिहाइ पुग्छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १ सय ८३ सदस्य चाहिन्छ ।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९, ०७:४०