काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दौरासुरुवाल लगाउने उपयुक्त मौका पर्खिरहेका बेला यस पटक त्यो मौकाको उपयोग गरेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा उहाँले आफूले दौरा सुरुवालको कहिल्यै विरोध नगरेको र पार्टीबाट मन्त्री बनेकाहरूलाई आफूलाई मन पर्ने पोसाक लगाउनुस् भनेको बताउनुभयो । आफूले पनि कुनै न कुनै बेला दौरासुरुवाल लगाउनुपर्छ भन्ने सोचेको र त्यो मौका यस पटक आएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
बैठकमा केही सांसदले दौरा सुरुवालको विषयमा कुरा उठाए पछि प्रचण्डले दौरासुरुवाल अव राष्ट्रिय पोसाक भइसकेको बताउनुभयो ।
आफू प्रधानमन्त्री बन्ने तय भए पछि राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा माओवादीका नेता नारायणकाजी श्रेष्ठ लगायत नेताले पनि दौरासुरुवाल लगाएर शपथ लिनुपर्ने बताएकाले आफूले त्यसै गरेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९, १७:०९