काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । केहीबेर अघि भएको मतदानबाट प्रधानमन्त्री प्रचण्डले २ सय ६८ मत प्राप्त गर्नुभएको हो ।
आजको बैठकमा २७० सांसद उपस्थित रहेकोमा सत्ता गठबन्धनका सात दलसहित काँग्रेस, जसपा, लोसपाले पनि विश्वासको मत दिएका छन् ।
प्रधानमन्त्रीलाइ नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले भने विश्वासको मत दिएनन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने उहाँलाई मत दिनुभएन ।
मतदानमा सांसदहरू मनोरमा शेरचन, किशोरसिंह राठौर, अम्बिका बस्नेत र पशुपतिशमशेर जबराले भाग नलिएको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत माग्नुभएको थियो । यसअघि कांग्रेस संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९, १७:२८