काठमाडौँ । नेपाल टी–ट्वेन्टी लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा १३४ रनको लक्ष्य पाएको विराटनगरलाई १०९ रनमै अलआउट गर्दै लुम्बिनीले उपाधि जितेको हो ।
विराटनगरका ओपनर अर्जुन साउदले ३४ र पृथु बास्कोटाले ३१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । लुम्बिनीका सागर ढकाल र हर्मित सिंहले समान २–२ विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी १९ ओभर २ बलमा १३३ रनमा अलआउट भएको थियो र लाहिरु मिलन्थाले ४१, हरमित सिंहले ३० रन तथा कप्तान दिपेन्द्रसिंह ऐरीले २० रन बनाउनुभयो । विराटनगरका नन्दन यादव र राज ननन्ले २–२ विकेट लिनुभयो ।
उपाधिसँगै लुम्बिनीले ५५ लाख, उपविजेता विराटनगरले ३० लाख, तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौँ नाइट्सले ५ लाख रुपैयाँ पाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । प्रतियोगितामा विराटनगर सुपर किंग्सबाट खेलेका पाकिस्तानी खेलाडी मोहमद हुसेन तलत सर्वोत्कृष्ट खेलाडी हुनुभयो ।
यस्तै, उत्कृष्ट ब्याटर फारवेष्ट युनाइटेटका हस्मतुल्लाह शाहिदी उत्कृष्ट बलर काठमाडौँका अभिनास बोहोरा बन्नुभयो । लिगको सर्वोत्कृष्ट खेलाडीले ५ लाख र उत्कृष्ट ब्याटर र बलरले जनही २ लाख ५० हजार पाउने पनि क्यानले जनाएको छ । विराटनगरका सूर्य तामाङ उदीयमान खेलाडी बन्नुभयो । उहाँले १ लाख ८० हजार रुपैयाँ पाउनुहुनेछ ।
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९, १८:४६