काठमाडाैँ । प्रदेश १ ले आज नयाँ सभामुख पाउने भएको छ । बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकले माओवादीका बाबुराम गौतमलाई सभामुख घोषणा गर्ने प्रदेश सभा सचिवालयका प्रवक्ता चन्द्रमणि पोखरेलले सीआईएनसँग बताउनुभयो ।
सभामुखमा एक जनाको मात्र उम्मेदवारी परेकाले आजको पहिलो बैठकले गौतमलाई सभामुखमा निर्विरोध भएको घोषणा गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । सभामुख चयन भएपछि बस्ने दोस्रो बैठकले उपसभामुख निर्वाचनको लागि मिति तय गर्नेछ । प्रदेश १ सरकारको मुख्यमन्त्री एमाले र सभामुख माओवादीले पाउने गरी यसअघि नै केन्द्रमा सहमति भइसकेको थियो । सोही अनुसार एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त भइसक्नुभएको छ ।
यसै गरी, सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुँदै छ । दिउँसो १ बजे मतदान गर्ने कार्य तालिका रहेको सुदूरपश्चिमको प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले जानकारी दिनुभयो । प्रदेशको सभामुखमा माओवादीका भीमबहादुर भण्डारी र काँग्रेसका मानबहादुर रावलको उम्मेदवारी परेको छ ।
यस्तै बागमती प्रदेशसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक सभामुखको उम्मेदवार बन्ने पक्का भएको छ ।
सत्ता गठबन्धनबिच मुख्य पद भागबन्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो । राप्रपाले हिजो पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार दिउँसो साढे तीन बजे पछि लगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य तालिका छ । भोलि प्रदेश सभाको बैठकले सभामुख चयन गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।
बागमती प्रदेश सभामा नेपाली काँग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका सात, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का ३ र हाम्रो नेपाली पार्टीका २ गरी १ सय १० जना सांसद छन् । सभामुख निर्वाचित हुन ५१ प्रतिशत मत पाउनुपर्छ ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९, १०:२५