काठमाडाैँ । विशेष अदालतले घुस लिएको पुष्टि गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई तीन बर्ष ३ महिना जेल सजाय तोकेको छ । घुस लिएको अभियोगमा दोषी ठहर गर्दै विशेष अदालतले पाठकलाई जेल सजाय सुनाएको हो ।
विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार पाठकलाई ३९ लाख रुपैया जरिवाना पनि तोकिएको छ । उनलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि अदालतले ३ वर्ष कैद र ३९ लाख रुपैया जरिवाना तोकेको छ ।
अख्तियारले आफ्नै आयुक्तविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो । नेपाल इन्जिनियरिङ कलेजको सम्बन्धन विवादमा पाठकले न्यौपानेसँग ७८ लाख मागेको अडियो सार्वजनिक भएको थियो । सो मुद्दामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले पाठक र न्यौपाने दुबैलाई ३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवानाको फैसला गरेको विशेष अदालतका प्रवक्ता योगीले जानकारी दिनुभयो।
पाठक अख्तियारको आयुक्त भएर पनि घुस लिएकाले उनलाई थप ३ महिना कैद सजाय सुनाइएको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९, १८:४०