हामीले विश्वासको मतै नदिएको भए पनि राष्ट्रपतिका निम्ति कोसिस गर्ने कुरा स्वभाविक हुन्थ्यो । विपक्षमा बसेको कारणले राष्ट्रपतिको दाबी नै गर्न हुन्न भन्ने त छैन । सभामुखको दाबी नै गर्न हुन्न भन्ने त छैन । राष्ट्रपति र सभामुख भनेको सरकारभन्दा बाहिरको विषय हो ।
काठमाडौँ । नेपाली काँग्रेसले सरकारलाई विश्वासको मत दिएपछि संसद् प्रतिपक्षविहीन बनेको छ । कतिपयले काँग्रेसले भित्रभित्रै शक्ति बाँडफाँडमा सहमति गरेको हुन सक्ने आशङ्का पनि गरेका छन् । यसो गरिनु लोकतन्त्रकै मूल्य मान्यता विपरीत रहेको भन्दै चर्को आलोचना पनि भइरहेको छ । सरकारलाई विश्वासको मत दिने निर्णयबारे काँग्रेसका पाँच जना सांसदले संसदीय दलमा फरक मत जनाए । भलै, उनीहरूले संसद्मा भने सरकारलाई विश्वासको मत नै दिए । विश्वासको मत दिए पनि काँग्रेस प्रतिपक्षमै बस्ने बताउँदै आएका छन् । तर, आफूले मत नदिए पनि सरकार बन्न सक्ने अवस्था हुँदा हुँदै सरकारलाई विश्वासको मत दिने बाध्यता सरकारलाई किन आयो अनि सरकारलाई समर्थन गरेपछि फेरि काँग्रेस कसरी प्रतिपक्ष ? साथी राजन रुचालले काँग्रेसका नेता प्रदीप पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश ।
नेपाली काँग्रेस अहिले सत्तापक्ष कि प्रतिपक्ष ?
हामीले आफूलाई प्रतिपक्षमै छौँ भनेर भनिरहेकै छौँ । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदै गर्दा पनि प्रतिपक्षमै बस्ने हो भनेर भनिसक्यौँ । तर राष्ट्रिय सहमतिका लागि यो प्रारम्भिक चरण भएकाले अनि सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्न मिलिहाल्ने स्थिति पनि छैन । अर्को कुरा चाहिँ हामीले विरुद्धमा मत हाल्दा पनि फरक परिणाम आउने अवस्था छैन । त्यही भएर हामीले उहाँलाई भोट हालेको हो । तर प्रतिपक्ष नै हाम्रो कित्ता हो, हाम्रो भूमिका हो । त्यो फेरिएको छैन ।
संविधानले चाहिँ प्रधानमन्त्रीलाई विश्वासको मत हालेपछि काँग्रेस अब प्रतिपक्ष होइन भनेर तोकेरै भनेको छ, कानुनभन्दा तपाईँहरूको दाबी कसरी बलियो हुनसक्छ ?
कानुनले होइन भनेपछि त हामीले हो भनेर अर्थै छैन । तर कानुनले त्यस्तो कतै पनि भनेको छैन । भनेको के ले त भन्दा अभ्यासले हो । संसदीय अभ्यासले चाहिँ संसद्मा दुई वटा कित्ता हुन्छ, एउटा सत्तापक्ष र अर्को प्रतिपक्ष । सत्तापक्षसँग प्रतिपक्ष कतैबाट पनि जोगिँदैन । अहिलेसम्मको अभ्यासमा हुँदै नभएको नयाँ अभ्यास जस्तो त देखियो तर संविधानले हामीलाई प्रतिपक्ष होइन भन्दैन ।
संसद्को रोस्ट्रममा उभिएर केपी शर्मा ओलीले काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सत्ताको लागि जाल फ्याँक्यो भनेर संशय व्यक्त गर्नुभयो, त्यसलाई गलत भन्न सकिने अवस्था त छैन नि ?
तपाईँले केपी शर्मा ओलीलाई जोडेर भन्नुभयो । खासमा उहाँ चाहिँ यस्तो भन्न जान्ने, जाल हान्न जान्ने, षड्यन्त्र गर्न जान्ने मान्छे हो । उहाँले अघिल्लो गठबन्धन पनि यस्तै यस्तै गरेर टुटाउनुभयो । अब यस्तै प्रवृत्ति अन्यत्र पनि हुनसक्छ । सत्ताको लोभ हाम्रै पार्टीमा पनि हुनसक्छ । बन्द कोठाभित्र सत्ताका लागि कस्ता गतिविधि भई रहेका छन्, लेनदेन भई रहेका छन्, त्यो देखिने कुरा भएन । तर देखिएको के छ भने, कुनै पनि पद पाउने ग्यारेन्टी नभई, सौदाबाजी नभई नि:शर्त रूपमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको छ । काँग्रेसको तर्क त्यसमा के हो भने, सहमतिका लागि र राष्ट्रिय संकटमोचन गर्न प्रधानमन्त्रीलाई बलियो बनाउन यो प्रारम्भिक अवस्थामा मत दिइएको हो । बाँकी हामी प्रतिपक्ष नै हो, प्रतिपक्षमै बस्ने हो । प्रभावकारी ढङ्गले प्रतिपक्षको भूमिका निभाउने हो ।
तपाईँको भनाई पो यो भयो त, तर तपाईँका पार्टी सभापतिले ‘वि विल कम ब्याक’ भन्नुभएको थियो, विश्वासको मत दिएर त्यसैको सुरुवात पो गर्नुभएको हो कि ?
मैले संसदीय दलमा यो विषयमा अब्जेक्सन गरेको हुँ । यसो गर्न हुन्न भनेर भनेको हुँ । प्रतिपक्षमा बसेर सत्तापक्षलाई मत दिन मिल्दैन, त्यसले हाम्रो भूमिका माथि आशङ्का हुन्छ पनि भनेको हुँ । तर, प्रक्रियागत ढङ्गबाट भएको निर्णय मान्न म पनि बाध्य भएँ । तपाईँले हाम्रो सभापतिको भनाई कोड गर्नुभयो, उहाँले संसद्मा विश्वास मत हाल्नु अघि अगाडी संसद्मा सम्बोधन गर्नुभएको छ । उहाँले सम्बोधन गर्दा, हामीले मन्त्री पाएका छौँ, राष्ट्रपति पाएका छौँ, सभामुख पाएका छौँ, आजदेखि हामी पनि सत्तापक्ष भनेर भन्नुभयो र ?
विश्वासको मत दिनु चाहिँ प्रचण्डप्रतिको असीम प्यार हो कि सत्ताको च्याँखे दाउ हो त ? तपाईँले बुझेको के हो ?
अब यो कुरा विश्लेषकलाई सोध्नुपर्छ । किनकि घटना भई नै सक्यो, हामीले पुष्पकमल दाहाललाई विश्वासको मत दिईसक्यौँ । चाहना नहुँदा नहुँदै मैले पनि पार्टीको ह्वीप मानेर मत दिएँ । प्रतिपक्षको भूमिका प्रभावकारी ढङ्गले निर्वाह गर्न सक्यौँ भने आम आशङ्का निवारण हुन्छ । जहाँसम्म प्रचण्डसँगको प्रेमको कुरा जुन भन्नुभयो, मलाई लाग्छ भने एकदमै धेरै तिक्तता भएर गठबन्धन टुक्रिएको थिएन । गठबन्धनलाई पूर्ण धोका दिएर प्रचण्ड जि जानु भएको पनि होइन । अब त्यो गठबन्धनभित्र उहाँको भूमिका चित्त दुखाउने खालको नभएकाले व्यक्तिगत रूपमा सदाशयता भयो होला । अब प्रतिपक्षको भूमिका बलियो बनाउने बाहेकको विकल्प हामीसँग छैन ।
काँग्रेसले झेली राजनीति गर्दैन र राष्ट्रपति, सभामुख लगायत पदका लागि सौदाबाजी गर्दैन भन्ने कुराको ग्यारेन्टी छ र ?
हामीले विश्वासको मतै नदिएको भए पनि राष्ट्रपतिका निम्ति कोसिस गर्ने कुरा स्वाभाविक हुन्थ्यो । विपक्षमा बसेको कारणले राष्ट्रपतिको दाबी नै गर्न हुन्न भन्ने त छैन । सभामुखको दाबी नै गर्न हुन्न भन्ने त छैन । राष्ट्रपति र सभामुख भनेको सरकारभन्दा बाहिरको विषय हो ।
अबका छ महिना भित्रै काँग्रेस सरकार सहभागी भयो भने ?
राजनीति नै सरकारमा जानको निम्ति गरेको त्यसमा अचम्म मान्नु पर्ने के छ र ?
सभापतिले त्यस्तो केही सङ्केत गर्नु भएको छ ?
केही सङ्केत गर्नुभएको छैन । तर, हामीले सरकारमा जाने गरी प्रचण्डलाई विश्वासको मत दिएको होइन ।
कुराकानी विस्तृतमा सुन्न र हेर्नका लागि– युट्युब लिङ्क
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९, १२:२४