अचेलकादोहोरीसुन्नुभएकोछ ? प्रतिप्रश्नगर्दैआफ्नागीतयीगीतभन्दाकताहोकतासालिनरसाहित्यिकभएकोतर्कगर्नुहुन्छ।
काठमाडौ । कुमार बस्नेत नेपाली लोक दोहोरी गायन संकलनको एक बिर्सनै नसकिने नाम हो । बस्नेतका ठट्यौली पाराका गीतले नेपाली लोक जनजीवनलाई उतारेका छन् । गीत जस्ता छन्, बस्नेतको स्वभाव ठ्याक्कै उस्तै छ । ८० वर्ष पुग्नै लागेका बस्नेतको अनुहारले उमेर अनुसारको पाकोपन देखाउँदैन । अझ मन त कता हो कता तन्नेरी नै छ । बुढ्यौलीको प्रसङ्ग निकाल्दा उहाँले आफ्नै गीतको एउटा पङ्क्ती सुनाउनुभयो र मुस्कुराउनुभयो ।
‘करेला बरेला भन्दा त छानामा फल्ने लौका छ,
अल्लारे केटा भन्दा त बुढोलाई रोज्ने मौका छ ।।’
कुमार बस्नेत युवा वयमा चल्तिको फुटबल खेलाडी हुनुहुन्थ्यो । महावीर र सङ्कटा क्लबबाट फुटबल खेलेका दिन अहिले पनि उहाँका सम्झनामा ताजै छन् । उहाँको अर्को पनि परिचय थियो, ‘राम्रो नृत्य गर्ने’ भैरव नृत्य दलबाट नाचेको र २१ वर्षसम्म वरिष्ठ डान्सर बनेको उहाँ सम्झनुहुन्छ । खेल्न, नाच्न र गाउन कुन सजिलो भन्ने प्रश्नमा उहाँको जवाफ छ, ‘खेल्न ।’ तर सजिलो पेशा अर्थात् फुटबल खेल्न छोडेर उहाँ गीत गाउनमा केन्द्रित हुनुभयो । जसको कारण थपिए नेपाली लोक दाहोरी गीतको भण्डारमा सयौँ गीत ।
गाउने रहर कलिलै उमेरमा सुरु भयो । २०११ सालतिर कपिलबस्तुको तौलिहवामा हुँदा पहिलो पटक गीत गाएको बस्नेतलाई याद छ । नेपालबाट गीत गाउन पहिलो पटक चीन गएका दुई गायक खिमबहादुर गन्धर्व र विर्खबहादुर गन्धर्वको सङ्गतले कुमार बस्नेतलाई सङ्गीतको सानिध्यमा पु¥यायो ।
त्यति मात्रै होइन, बस्नेतलाई नेपालका चर्चित साहित्यकार महाकवि लक्ष्मिप्रसाद देवकोटा, बालकृष्ण सम र भीमनिधी तिवारीलगायतको आसपासमा हुकर्ने मौका मिल्यो । यसले पनि उहाँलाई सङ्गीतप्रतिको मोह थपिदियो । त्यसबेला दरबारमार्गमा नेपाल नाटक सङ्घ थियो, बस्नेत आफ्ना बुबा गंगाबहादुर बस्नेतकोको हात समाउँदै पुग्नुहुन्थ्यो । उहाँका बुबा त्यहाँको महासचिव हुनुहुन्थ्यो । जहाँ नाम चलेका कलाकार साहित्यकारले कुमार बस्नेतलाई काखमा लिन्थे र माया गर्थे ।
२००८ सालमा भैरवबहादुर थापा राष्ट्रिय नाच घरको नृत्य निर्देशक हुनुहुन्थ्यो । थापासँगको सङ्गतले उहाँले चार ओटा नाटकमा अभियनसमेत गर्नुभयो । गीति नाटक र सडक नाटकको हिसाब छैन ।
कुमार बस्नेत आफ््नो पहिलो गीत रेकर्ड हुँदा १६ वर्षको किशोर हुनुहुन्थ्यो । त्यो अल्लारे उमेरमा चट्ट जुल्फी ढल्काएर भारतको कलकत्ता पुगेर गीत गाएको पल सम्झिँदा बस्नेतलाई अहिले पनि रमाइलो लाग्छ । इन्द्रेणी रेकर्ड भन्ने सङ्गीत कम्पनीमा बस्नेतको पहिलो गीत रेकर्ड भएको थियो ।
‘रिमझिम रिमझिम पानी पर्ला, स्वर मिलाई गीत गाउँला
बिजुली चम्की मन डराए, तिम्रै छेउमा आउँला...’
अमलेखगञ्ज हुँदै रक्सौल पुगेपछि पहिलो पटक रेल चढेर कलकत्ता पुग्दा निकै दुख भएको थियो उहाँलाई । तर रेडियो नेपालबाट गीत बजेर चर्चा कमाएपछि बस्नेतले दुख भुल्नुभयो । बुद्धि परियारसँग मिलेर गाएको ‘हेर्दा राम्रो माछापुच्छ्रे’ बोलको गीतले बस्नेत चर्चा अझैँ चुलियो । गीतले चर्चित त बनायो तर सङ्गीतको औपचारिक शिक्षा लिने बस्नेतको इच्छा अहिलेसम्म पूरा भएको छैन । शास्त्रीय सङगीत सिक्ने चाहनाले नयराज यज्ञराजलगायत गुरु भेट्नुभयो । तर कसैले पनि सिकाउन मानेनन् । बरु लोकगीत नछोड्नु, जे छ ठीक छ भनिदिए । हुन पनि बस्नेतलाई लोकगितले दिनुपर्ने सबै दिएको छ ।
उहाँका गीतमा प्राय गाउँबस्तीबाट सङ्कलन गरेर ल्याइएका शब्द र भाका हुन्छन् । मौलिक गीत खोज्नकै लागि हिमाली बस्तीदेखि तराईका फाँटहरूसम्म बस्नेत पुग्नुभएको छ । तर कुमार बस्नेतलाई पछिल्लो पुस्तासँग गुनासो छ । उहाँका अधिकांश गीतहरू युट्युवमा अनुमतिबिनै राखिएका छन् । गुनासो त्यति मात्रै होइन । राज्यले आफ्नो कामको मूल्याङ्कन नगरेको उहाँको दुखेसो छ । गायक बस्नेत नेपालमा लोकदोहोरी गीत गाउने चलनको सुरुवात उहाँले नै गर्नु भएको हो ।
‘यो मायालाई बाटैमा भेटियो,
पानी खाने पियासै मेटियो ।
सरर यो मन धरर..’
बस्नेत नेपालको पहिलो दोहोरी गीत यही भएको दाबी गर्नुहुन्छ । ४० को दशकमा हैटौँडामा एउटा कार्यक्रममा यो दोहोरी गाइएको थियो । बस्नेतका गीतमा महिलालाई हल्का रुपमा प्रस्तुत गरिएको भन्दै उहाँको आलोचना पनि हुन्छ । तर, समय अनुसारको गीत भन्दै बस्नेत आलोचना गर्न आवश्यक नभएको बताउनुहुन्छ ।
अचेलका दोहोरी सुन्नुभएको छ ? प्रतिप्रश्न गर्दै आफ्ना गीत यी गीतभन्दा कता हो कता सालिन र साहित्यिक भएको तर्क गर्नुहुन्छ ।
काठमाडौँको कमलपोखरीमा जन्मिए पनि बस्नेतको बाल्यकाल दोलखामा बित्यो । बाल्यकालमा तामाङ गाउँमा बसेको प्रभावले उहाँका धेरै तामाङ सेलोका गीत छन् । उहाँले मायाप्रेमका मात्रै होइन, मेलापात र खेतीकिसानीका गीत पनि गाउनु भएको छ । ‘तर त्यस्तो सकरात्मक कामको चर्चा नेपाली समाजमा हुँदैन ।’ गायक बस्नेतको चित्त दुखाइ यसैमा छ ।
उमेर ढल्किंदै गए पनि बस्नेतका गीत निस्किरहेका छन् । गलाले साथ दिएसम्म गीत गाइरहने उहाँको धोको छ । अनि इच्छा छ, नेपाली सुखी र खुसी भएको देख्ने । तर राज्यले दिनुपर्ने जति सम्मान नदिएकोमा गुनासोचाहिँ मनभरि छ ।
प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९, १७:४५