काठमाडौँ । सरकारले आन्तरिक उडानमा रहेका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिने निर्णय गरेको अर्थमन्त्री तथा सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्ने पनि उहाँले बताउनुभयो । ‘यो व्यवस्थाले हवाई दुर्घटना हुन नदिन भूमिका खेल्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा दुर्घटना जाँच आयोग गठन गरेको छ । आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त उपरथी दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भारका इन्जिनियर एकराजजङ्ग थापा तथा सदस्यसचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने रहेको सरकारका प्रवक्ता उपप्रधानमन्त्री पौडेलले जानकारी दिनुभयो । आयोगले दुर्घटनाको कारण पत्ता लगाइ भावी दिनमा यस्ता दुर्घटना हुन नदिन सुझाव समेत दिने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, माघ १, २०७९, १४:५९