काठमाडौँ । पोखरामा हिजो भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार शवको पहिचान गरेर बिहान ९ बजेदेखि आफन्तको जिम्मा लगाउने तयारी गरिएको छ ।
चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँमा आफन्त भएका व्यक्तिको शव आजै काठमाडौँमा पठाइने पनि उहाँले जानकारी दिनुभयो ।
हिजो पोखरा पुगेका मृतकका आफन्तलाई स्थानीय होटलमा बस्ने बस्ने व्यवस्था मिलाइएको र शव घरसम्म पुर्याउन समन्वय गरिने पनि प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभयो । ६६ जनाको शव भेटिएको र वेपत्ता ६ जनाको आज बिहानैदेखि खोजी सुरु गरिएको उहाँको भनाइ छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरको विमान हिजो बिहान दुर्घटनामा परेको थियो ।
प्रकाशित मिति: सोमबार, माघ २, २०७९, ०८:४२