काठमाडौँ । मन्त्रालयको भागबण्डामा सरकारमा रहेका दलहरूबीच कुरा मिलेसँगै आज मन्त्रिपरिषद् बिस्तार हुने भएको छ ।
मन्त्रीहरूको शपथग्रहणको कार्यक्रम दिउँसो १ बजेका लागि तय भएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार मन्त्रालय बाँडफाँट सकिएकाले आज दिउँसो १ बजे शपथग्रहण कार्यक्रम तय भएको छ ।
हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मन्त्रालय बाँडफाँटको विषय टुङ्ग्याएको हो । नेताहरूका अनुसार एमालेले ८, माओवादी केन्द्रले ५, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३/३ र जनमत पार्टीलाई एउटा मन्त्रालय दिने सहमति बनेको छ ।
जसपाले उपराष्ट्रपतिमा दावी गरे पनि नपाउने स्थिति बनेपछि सरकारमा जाने वा नजाने भन्ने बारेमा निर्णय गर्न बाँकी रहेको प्रवक्ता मनिस सुमनले सीआईएनसँग बताउनुभयो ।
गत पुस १० मा प्रधानमन्त्री प्रचण्डले शपथग्रहणसँगै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई नियुक्त गर्नुभएको थियो ।
बिनाविभागीय मन्त्रीमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान नियुक्त हुनुभएको थियो ।
आज सरकारमा पठाउने मन्त्रीको बारेमा छलफल गर्न सत्तामा रहेका राजनीतिक दलले आन्तरिक बैठक गर्दैछन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले उपमहासचिव तहमा छलफल गर्दै हुनुहुन्छ भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि शीर्ष नेतासँग अनौपचारिक छलफल गर्न लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा कुनकुन नेतालाई सहभागी गराउने भन्ने बारेमा अनौपचारिक कुराकानी भइरहेको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकारमा जाने मन्त्रीको बारेमा निर्णय गर्ने जिम्मा अध्यक्ष रवि लामिछानेलाई दिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९, ०९:२७