काठमाडाैँ । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राप्रपाका अध्यक्ष समेत रहेका राजेन्द्र लिङदेनले उपप्रधान तथा ऊर्जा मन्त्रीमा शपथ ग्रहण गर्नुभयो ।
यस्तै नेकपा एमालेका हरि उप्रेतीले रक्षा, डा. विमला पौडेल राईले परराष्ट्र, पदम गिरीले स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरीले महिला तथा बालबालिका मन्त्रालयको शपथ लिनुभयो । एमालेबाट यसअघि मन्त्री बनिसकेका
ज्वालाकुमारी साहले कृषि , राजेन्द्र राईले भूमि व्यवस्था सहकारी मन्त्री नियुक्त हुनुभएको छ ।
यसैगरी, नेकपा माओवादी केन्द्रबाट सञ्चारमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती, संघीय मामिला मन्त्रीमा अमनलाल मोदीले पनि शपथ लिनुभएको छ ।
यस्तै, राप्रपाबाट ध्रुवबहादुर प्रधानले कानून तथा विक्रम पाण्डेले सहरी विकास मन्त्रालयको शपथ ग्रहण गर्नुभएको छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनालले शिक्षा तथा डोरप्रसाद अर्यालले श्रम मन्त्रीको शपथ लिनुभयो । जनमत पार्टीका अब्दुल खानले वन मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
राप्रपाका दीपक सिंहले ऊर्जा राज्यमन्त्री, रास्वपाका डा. तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्री र सुशीला श्रीपाली संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री नियुक्त भए पनि उहाँ भने शपथ ग्रहणमा उपस्थित हुनुभएन ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९, १३:५४