काठमाडौ । प्रतिनिधी सभाका सभामुख पदको लागि आज मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसदको सचिवालयले सभामुख चयनको दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिने जनाएको छ । आजै ४ः१५ मा उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका छ ।
सभामुख चयनका लागि भोलि ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्ताव पेश गरिनेछ । सभामुख हुन सांसद हुनुपर्ने व्यवस्था छ । सत्ता साझेदार दलभित्र सभामुख पद नेकपा एमालेलाई दिने सहमति भएको एमाले नेताहरूले दाबी गर्दै आएका छन् ।
गत पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली काँग्रेसले पनि सभामुख र राष्ट्रपतिलगायत पदमा सहमतिअनुसार नै जान आफूहरू सकारात्मक रहेको बताईरहेको छ । सीआईएनसँग कुरा गर्दै काँग्रेस नेता डा. चन्द्र भण्डारीले काँग्रेसले सभामुख पदमा अन्य दलको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
एमालेले भने सभामुख र राष्ट्रपति पद आफूहरूले पाउने पहिले नै सहमति भइसकेको हिजो बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा पनि बताएको थियो । एमालेबाट सभामुखमा झापाका देवराज घिमिरे उमेद्वार बन्ने सम्भावना छ ।
सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ ।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९, ०७:१९