काठमाडाैँ । ‘मुभी लभर्स स्क्रिनिङ’मा यस पटक डोरबहादुर विष्टको जीवनीमाथि आधारित वृत्तचित्र ‘म अलप हुन चाहन्छु ‘इन्टु द मिस्ट’ प्रदर्शन हुने भएको छ ।
विष्टको जन्मदिन (माघ ४)को अवसर पारेर वृत्तचित्र प्रदर्शन गर्न लागिएको आयोजक ‘मुभी लभर्स’ले जनाएको छ। वृत्तचित्र माघ ४ गते बुधबार साँझ ५ बजे सुन्धाराको सीटीसी मलको सीडीसी सिनेमामा देखाइने र यसका लागि अनलाइनबाट २०० सय रुपैयाँको टिकट काट्नुपर्ने आयोजकले जनाएको छ । वृत्तचित्र हेरिसकेपछि बहस कार्यक्रम पनि हुनेछ ।
सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित यो वृत्तचित्रले डोरबहादुर विष्टको जीवनयात्रा समेटेको छ । मानव शास्त्री तथा विचारक डोरबहादुर विष्टको जीवन उतारचढावले भरिपूर्ण थियो । मानव शास्त्रमा उल्लेखनीय भूमिका खेलेका विष्टका थुप्रै किताब र अनुसन्धान कृति प्रकाशित छन् । प्राज्ञिक व्यक्तित्व विष्टलाई ‘नेपाली मानव शास्त्रका पिता’ भनेर पनि कतिपयले चिन्छन् । जुम्लाको चौधाविशा गाउँमा गएर त्यहाँका मानिसको जीवनस्तर उकास्न कटिबद्ध विष्ट सन् १९९५ अचानक गायब भएका थिए ।
वृत्तचित्रले ऐतिहासिक महत्त्व बोकेको र विष्टजस्ता महत्त्वपूर्ण व्यक्तिबारे सबैले थाहा पाउनुपर्ने अर्का निर्देशक केसीको भनाइ छ । विश्वविद्यालयका किताबहरू उहाँका सिद्धान्त पढेकाहरूका लागि त यो वृत्तचित्रले अझ विशेष अर्थ राख्ने उहाँले बताउनुभयो ।
हराएपछि उहाँको व्यापक खोजी भए पनि अहिलेसम्म कुनै जानकारी नपाइएको परिवारले जनाएको छ । उहाँको प्रसिद्ध तथा विवादित किताब ‘फ्याटलिज्म एन्ड डेभलपमेन्ट’ ले नेपाली समाजमा बहस नै निम्त्याएको छ । यो किताबको नेपाली रूपान्तरण ‘भाग्यवाद र विकास’ पनि उपलब्ध छ । यस्तै, विष्टका ‘‘पिपल अफ नेपाल’, ‘सोताला’, ‘रिपोर्ट फ्रम ल्हासा’ ‘डोरबहादुर विष्टका कथाहरू’ लगायत छन् ।
नेपालमा वृतचित्रहरूको खडेरी रहिरहेको र सिनेमाको महत्त्वपूर्ण विधाका रूपमा रहे पनि नेपालमा वृत्तचित्र त्यति फैलिन नसकेको हुनले वृत्तचित्र देखाउने जमर्को गरेको आयोजक ‘मुभी लभर्स’ले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९, १२:३०