जुम्ला । मानव शास्त्री डोरबहादुर विष्ट आफ्नो सक्रिय जीवनको उत्तरार्द्धतिर जुम्लाको चौधबीसमा शिक्षाको दियो बाल्नुभएको थियो । विष्टले २०५० सालमा ऋण मोक्ष मावि डिल्ली चौरमा बेलायत, जापान र जर्मनी सरकारको आर्थिक सहयोगमा सुविधाजनक भवन, बिजुली बत्ती, शैक्षिक सामग्री र छात्रावासको व्यवस्थापन गरी चौधबीसलाई विर्सि नसक्नुको गुन लगाएको कुरा स्थानीय बासिन्दा अहिले पनि स्मरण गर्छन् ।
जुम्ला विमानस्थलबाट तिलाको सहायक नदी जवाँको किनारै किनार ४५ मिनेटको मोटर यात्रा पछि जुम्लाको चौधबीस क्षेत्रको लासी बजार पुगिन्छ । लासी पातारासी गाउँपालिकाको केन्द्र पनि हो । राज्य पुनर्संरचना पछि सिङ्गो चौधबीस पातारासी गाउँपालिकामा रूपान्तरण भएको हो ।
लासी बजारको ठिक अगाडी जप्न गाउँ छ, जप्नको डिलमा प्राकृतिक ओडार छ, जुन ओडारमा घामपानी छेक्ने र खण्ड खण्डमा मानिस जम्मा भएर राडी पाखी बुन्ने, उखान चुट्किला सुनाउने, धान कुट्ने प्रशस्तै ठाउँ छन् । यही ओडारबाट ऋण मोक्ष विद्यालयको अनौपचारिक सुरुवात भएको थियो । ओडारबाट जग बसेको यो विद्यालयलाई व्यवस्थित विद्यालय बनाउन प्राध्यापक विष्टले गरेको योगदान बिर्सिन नै नसकिने विद्यालयका प्रधानाध्यापक हरिबहादुर बुढा बताउनुहुन्छ ।
२०५२ साल पुस २५ गते घर जान जुम्लाबाट हिँडेका मानव शास्त्री डोरबहादुर विष्टको अवस्था अझै थाहा हुन सकेको छैन । अभिभावमा चेतना कम हुँदा, यार्सा टिप्ने याममा विद्यालय रित्तो हुन्थ्यो, विद्यार्थी पाटनभरि छरिन्थे । अभिभावकलाई सचेत बनाउन निरन्तरको प्रयासले विद्यार्थीलाई सार्वजनिक बिदा बाहेकका दिन पठनपाठनमा टिकाउन सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बुढाले स्मरण गर्नुभयो ।
विद्यालयमा अहिले व्यवस्थित विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा, खेल मैदान, पुस्तकालय पनि छ । विगतको भन्दा अहिले विद्यार्थी रुचिका साथ अध्ययन गरिरहेको शिक्षक लक्ष्मीकान्त जैसीले सीआईएनलाई जानकारी दिनुभयो । शिक्षा तथा मानव स्रोतको सहयोगमा डिल्ली चौरमा सञ्चालन भइरहेको हिमाली छात्रावासमा ५० जना छात्रा बसेर अध्ययन गरिरहेका छन् ।
विगतको समयमा छात्रावासमा बस्ने बाहेक महिनावारी भएका छात्रा विद्यालय नआउने गरेकोमा विद्यालयले ‘महिनावारी प्याड’ उपलब्ध गराउनुका साथै छात्रामैत्री वातावरण रहेको छात्रा पुनम बुढाले बताउनुभयो । स्थापना कालमा लैछिरी बुढाको नेतृत्वमा चलेको विद्यालयमा हालसम्म २० जना प्रधानाध्यापक बनेका छन् ।१ देखी ११ कक्षासम्म पढाइ भइरहेको विद्यालयमा ६०० विद्यार्थी र २१ जना शिक्षक छन् । ऋण मोक्ष मावि डिल्ली चौर पातारासी क्षेत्रको शैक्षिक धरोहर मानिन्छ ।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९, १७:३९