काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजे बस्ने बैठकमा सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ ।
सभामुख पदमा मनोनयन दर्ताका लागि हिजो दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म समयमा दिईएको थियो । जसमा दुई जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् ।
एमालेका सांसद देवराज घिमिरे सत्ता साझेदार दलहरूको समर्थनमा उमेद्वार बन्नुभएको छ । नेपाली काँग्रेस तथा नेकपा एकीकृत समाजवादी लगायत दलहरूको समर्थनमा काँग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिनुभएको छ । घिमिरे र न्यौपानै बीच सभामुखका लागि आज प्रतिस्पर्धा हुनेछ । एमालेका सांसद घिमिरेलाई एमालेसहित माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलहरूको साथ छ ।
प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२, रास्वपाका २० र राप्रपाका १४ जना सांसद छन् । सत्ता साझेदार अन्य दलहरूले पनि घिमिरेलाई साथ दिने सम्भावना छ ।
यस्तै गत पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका तर सरकारमा सामेल नभएका काँग्रेस, नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थनमा न्यौपाने सभामुखको उम्मेदवार बन्नुभएको छ । उहाँलाई जसपा र लोसपाले पनि साथ दिने सम्भावना छ । प्रतिनिधि सभामा काँग्रेसका ८९ सांसद भए पनि ८८ जनाले मात्रै मतदान गर्न पाउँछन् । नेकपा एकीकृत समाजवादीका १० जना सांसद छन् । जसपाले समर्थनमा गरेका उसका १२ जना सांसद छन् । त्यस्तै लोसपाको ४ जना सांसद छन् ।
दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि एक सय ३८ जना सांसदको समर्थन चाहिन्छ ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९, ०८:१५