शुष्मा राजवंशी
झापा । प्रतिनिधिसभाको नयाँ सभामुखमा झापा २ का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा आज भएको निर्वाचनमा उपस्थित २६८ जना सांसदमध्ये घिमिरेको पक्षमा १६७ मत परेको थियो ।
घिमिरेलाई सभामुखमा निर्वाचित गर्न नेकपा एमालेका सुवासचन्द्र नेम्वाङकाे समर्थन तथा माओवादीका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देनले समर्थन गर्नुभएको थियो ।
गएको मङ्सिर ४ गते सम्पन्न आम निर्वाचनबाट उहाँ झापा २ वाट स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २ हजार २ सय ६१ मतले पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो ।
झापा बिर्तामोड नगरपालिका ५ का घिमिरेले विद्यार्थी जीवनबाटै राजनीति सुरु गर्नुभएको थियो । २०१३ साल जेठ १३ गते ताप्लेजुङको हालको सिरिजङ्गा गाउँपालिका–३ मा पदमप्रसाद घिमिरे र भीमकुमारी घिमिरेका सन्तानका रूपमा जन्मिनुभएका घिमिरेले २०३५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो ।
काठमाडौँको त्रिचन्द्र क्याम्पसबाट स्नातक गर्नुभएका घिमिरे तत्कालिन मदन भण्डारीको संयोजकत्वमा २०४९ सालमा सम्पन्न पाचाैँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो ।
उहाँ २०३६ देखि २०४६ सालसम्म भूमिगत जीवन पनि बिताउनुभएको थियो । उहाँ २०५० सालदेखि निरन्तर १० वर्ष सम्म एमालेको मेची अञ्चल इन्चार्ज हुनुहुन्थ्यो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र रहेका घिमिरे मदन भण्डारी फाउन्डेसनको कार्यालय प्रमुख भए काम गर्नुभएको थियो । उहाँ २०५६ सालमा राष्ट्रिय सभा सदस्य हुनुहुन्थ्यो । उहाँ २०७१ सालमा भएको एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी ओली निर्वाचित भए पछि २०७४ सालको अन्तिमसम्म घिमिरेले सचिवालय प्रमुख हुनुहुन्थ्यो ।
घिमिरे हाल प्रदेश १ मा एमालेको इन्चार्ज तथा सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष पनि हुनुहुन्छ ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९, १५:३५