काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार प्रतिनिधि सभाका कुनै पनि सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधि सभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना आज दिउँसो १ देखि ४ बजेसम्ममा दर्ता गर्न सकिने छ ।
निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ताक्रमानुसार दिउँसो सवा ४ बजे संसद भवन नयाँवानेश्वरमा प्रकाशित गर्ने कार्यतालिका रहेको सचिव योगीले जानकारी दिनुभयो ।
आज दर्ता भएको उम्मेदवारी अनुसार भोलि उपसभामुखको निर्वाचन हुने छ ।
सरकारमा रहेका दलहरूले गरेको शक्ति बाँडफाँडको निणर्य अनुसार प्रतिनिधि सभाको उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ ।
कसलाई उपसभामुखको उम्मेदवार बनाउने भन्ने बारेमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक अहिले बिहान सिंहदरवारमा बस्दै छ ।
राष्ट्रपतिलगायतका पदमा नेपाली काँग्रेसले उम्मेदवार उठाउने नेताहरूले बताए पनि काँग्रेसले उपसभामुखको उम्मेदवारका बारेमा हालसम्म निणर्य गरेको छैन ।
हिजो भएको निर्वाचनबाट सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसक्नु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९, ०९:०७