रावन विश्वकर्मा, रेडियो गुर्वावा,बर्दिया
बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकालाई डिजिटल बाँसगढीको रूपमा उद्घाटन गरिएको छ ।
डिजिटल नेपालको स्वीकृत कार्यढाँचा अनुसार बाँसगढी नगर सरकारले देश कै पहिलो नगरको रूपमा डिजिटल बाँसगढीको उद्घाटन गरिएको हो ।
सुशासन, विकास र समृद्धिको दुरदृष्टिसहित बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले एक कार्यक्रमका बीच डिजिटल बाँसगढीको उद्घाटन गर्नुभयोे ।
नगरको आर्थिक रुपान्तरण र समृद्धिमा सूचना प्रविधिको माध्यमबाट सघाउन नगर सरकारले “डिजिटल बाँसगढी” कार्यढाँचा कार्यान्वयमा ल्याएको नगर प्रमुख खड्काले बताउनुभयो ।
समय सापेक्ष सूचना प्रविधिको प्रयोगमार्फत कार्यालयका विभिन्न सेवा क्षेत्र र निकायमा कार्यान्वयन गर्न कार्यपालिका बैठकको निर्णय अनुसार डिजिटल बाँसगढीको उद्घाटन गरिएको हो ।
नगर प्रमुख खडकाले सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत प्राप्त हुने अन्य लाभका अतिरिक्त डिजिटल प्रविधिको प्रयोगबाट सुशासनको प्रत्याभूत थप परदर्शी एवं प्रभावकारी सार्वजनिक व्यवस्थापनका लागि आधार तय हुने अपेक्षा गरिएको धारणा राख्नुभयो ।
नगरले घटना दर्ता प्रणाली, सामाजिक सुरक्षा प्रर्णाली, प्रतिशतमा आधारित राजश्व प्रणाली, वडा कार्यालयमार्फत प्रदान गरिने ईलेक्ट्रोनिक्स नम्बरसहितको डिजिटल सिफारिस प्रणाली पूर्ण कार्यान्वय गरिएको र डिजिटल बाँसगढीको कार्यढाँचा अनुसार सबै व्यवस्था गरिएका कारण डिजिटm नगर घोषणा गरिएको हो ।
डिजिटल बाँसगढीको कार्यढाँचा अनुसार नगरपालिका, विषयगत शाखा, उपशाखा, वडा कार्यालय र सेवाग्राहीले एकै स्थानबाट सेवा लिने र दिने काम हुने बाँसगढी नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख क्षितिज पौडेलले जानकारी दिनुभयो ।
हाललाई नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालय, सूचना तथा प्रविधि विभागबाट सरकारी डोमेन लिएर तत्काललाई निजी सर्भरमा रहने गरि डिजिटल बाँसगढीलाई निर्माण गरिएको उहाँको भनाइ छ ।
बाँसगढी नगरपालिकाका सबै सेवा एकै ठाँउबाट त्यो पनि घरबाट नै लिन मिल्ने सूचना अधिकारी पौडेलको दावी छ ।
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९