काठमाडौँ ।साहित्यकार क्षितिज मगरको चौथो कृति‘भेडीकम्बलको प्वाल’ कथा सङ्ग्रह आज काठमाडौँमा लोकार्पण भएको छ ।
एक कार्यक्रमका बीच कथा सङ्ग्रहको प्राध्यापक तथा समालोचक केशव सुवेदी, कवि तथा समीक्षक प्रमोद प्रधान, गीतकार तथा समीक्षक भावेश भुमरी, साहित्यकार तथा पत्रकार नविन विभास,तत्कालीन जनमुक्ति सेनाका ब्रिगेड सहायक कमान्डर होलिका केसी, लेखक क्षितिज मगर र प्रकाशक तथा बालसाहित्यकार विजयराज आचार्यले संयुक्त रुपमा लोकार्पण गर्नु भएको हो ।
कार्यक्रममा प्राध्यापक केशव सुवेदीले क्षितिज मगरको लेखाइले सशस्त्र द्वन्द्वको परिघटनालाई अभिलेख गरेको धारणा राख्नुभयो ।
'यो कृतिमा आञ्चलिकता पनि पाइन्छ । त्योभन्दा धेरै यसले जनयुद्धको समयको कालखण्डलाई अभिलेखमा उतार्ने काम गरेको छ ।' सुवेदीले भन्नुभयो ।
समीक्षक प्रमोद प्रधानले कृतिभित्र रहेका हरेक कथाले पाठकलाई पढेर नसकिँदासम्म बाँधेर राख्ने टिप्पणी गर्नुभयो ।
गीतकार तथा समीक्षक भावेश भुमरीले क्षितिज मगरले लेखेका कथाले जनयुद्धको बेलामा घटेका घटना, उत्साह, वितृष्णा, प्रेम र वियोगलाई मुख्य विषय बनाएको बताउनुभयो ।
कथाकारले मुलुक शान्ति प्रक्रियामा आउनु अघि र पछिका परिवेश, कालखण्डलाई फरकफरक कोणबाट व्याख्या गरेको र हेरक कथा पठनीय रहेको उहाँको भनाइ थियो ।
साहित्यकार नविन विभासले ‘भेडीकम्बलको प्वाल’ कथा सङ्ग्रहको रचना गर्भदेखि कथाकारको व्यक्तित्व तथा कृतित्वको बारेमा जानकारी गराउनु भएको थियो ।
प्रकाशक आचार्यले सशस्त्र द्वन्द्वले समाजमा छोडेर गएका सकारात्मक तथा नकारात्मक पाठालाई आगामी दिनमा पनि प्रकाशकका रुपमा उजागर गर्दै जाने र रापतीका साहित्यकारलाई प्रोत्साहन गर्ने आफ्नो उद्धेश्य रहेको सुनाउनुभयो ।
लोकार्पण कार्यक्रममा कथाकार मगरले आफूले जीवनमा भोगेका, देखेका कुरालाई कथामा उतारिएको बताउनुभयो । तत्कालीन जनमुक्ति सेनाको ब्रिगेड सह–कमाण्डर रहेका उहाँले जनयुद्धलाई आलोचनात्मक ढङ्गले हेर्नुपर्ने धारणा राख्नुभयो ।
रोल्पाको सुनछहरी गाउँपालिका–७ जेलबाङका स्थायी वासिन्दा क्षिति मगरका यसअघि आस्थाका पर्खालहरू (कविता सङग्रह), सुनछहरीको ऐनामा (कथासङग्रह),गण्डक अभियान (डायरी) प्रकाशित छन् ।
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९, २२:१४