काठमाडौँ । सभामुख, उपसभामुखको निर्वाचन सकिएसँगै सरकारमा रहेका र नरहेका राजनीतिक दलहरूको ध्यान राष्ट्रपति चयनमा केन्द्रीत भएको छ ।
हिजोको संसद बैठकपछि नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकुलका व्यक्तिलाई सभामुख, उपसभामुख बनाएको र यसले संविधानमाथि खतरा रहेको दाबी गर्नुभयो ।
प्रवक्ता महतले राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्री प्रचण्डको परीक्षा हुने टिप्पणी गर्नुभयो ।
काँग्रेसका अरु नेताले पनि राष्ट्रपतिमा समर्थन गर्ने शर्तमा प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पार्टीले समर्थन गरेको दावी गरिरहेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले सकभर राष्ट्रपतिमा सहमति होस् भन्ने आफ्नो चाहाना भएको बताउँदै आउनु भएको छ ।
सरकारमा रहेका दलले संवैधानिक पद बाँडफाँड गर्दा प्रधानमन्त्री माओवादी केन्द्रलाई, राष्ट्रपति र सभामुख एमालेलाई दिने गरी सहमति गरेका छन् ।
उक्त सहमतिपछि पनि प्रधानमन्त्रीले राष्ट्रपतिमा सहमति भइदिए राम्रो हुने थियो भन्दै आउनुलाई सरकारमा रहेका दलले पनि शङ्काको दृष्टिले हेर्दै आएका छन् ।
माओवादी केन्द्रका नेता जनार्दन शर्माले सरकारमा रहेका दलले उठाएका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचति हुने हिजो संसदको बैठकपछि बताउनुभयो ।
राष्ट्रपतिमा काँग्रेसले अपेक्षा गर्नु र प्रधानमन्त्रीले सहमति गर्न खोज्नुको कारण के होला ? यो प्रश्नको जवाफमा एकजना विश्लेषक पुरुषोत्तम दहालले २ वर्षपछि प्रधानमन्त्री एमालेलाई दिनुपर्दा शक्तिशाली सबै पदमा आफू नभइने डर नेकपा माओवादी केन्द्र र उसका नेतामा देखिएको टिप्पणी गर्नुभयो ।
‘अहिलेका राष्ट्रपतिले नागरिकता विधेयकलगायतका संसदका सिफारिस गम्भीर कारण देखाएर रोक्नुभएको छ । सभामुख, राष्ट्रपतिमा एमालेका उम्मेदवार निर्वाचित हुँदा काम गर्न समस्या हुन्छ कि भन्ने पनि प्रधानमन्त्री प्रचण्डलाई लागेको देखिन्छ ।’ दाहालले भन्नुभयो ।
अहिले सरकारमा रहेका दलहरूबीच शक्तिशाली पदमा भाग लगाउँदा आलोपालो गर्ने भनिएको छ । यदी त्यो कार्यान्वयन गर्ने हो भने माओवादी केन्द्रले प्रधानमन्त्री छोड्दा सभामुख एमालेले छोड्नुपर्ने कतिपयको तर्क रहने गरेको छ ।
विश्लेषक दाहालका अनुसार काँग्रेस पनि साथैमा रहेको देखाएर नेकपा एमालेलाई गलाउने रणनीतिमा प्रधानमन्त्री प्रचण्डको ध्यान केन्द्रीत भएको हुनसक्छ ।
यस्तो अवस्थामा एमाले राष्ट्रपति पदमा भएको सहमति र गरिरहेको दावीबाट पछि हट्ने काँग्रेस र माओवादी केन्द्रका कतिपय नेताहरूले अनौपचारिक रूपमा बताउने गरेका छन् ।
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९, ०७:५१