काठमाडौँ । सुर्खेतमा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
छिन्चुबाट सुर्खेतका लागि छुटेको प्रदेश १ ०२६ च ९२१३ नम्बरको जिप आज बिहान सडकबाट तल खस्दा घाइते भएका ४ जनाको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर जिप चालक सुर्खेतको विरेन्दं्रनगर नगरपालिका ७ का २७ वर्षका सागर शाही, दैलेखको भगवतीमाई गाउँपालिका ५ का ३१ वर्षका बबिन शाही, डुङ्गेश्वर–३ का ३३ वर्षका दीपेन्द्र जङ्ग शाही र दैलेखकै गुराँस गाउँपालिका ३ का ३६ वर्षका राजेन्द्र बीसीको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते दैलेखको भैरवी गाउँपालिका ५ का २५ वर्षका विरेन्द्रराज शाहीको सुर्खेतमै उपचार भइरहेको छ ।
सुर्खेतको विरेन्दं्रनगर नगरपालिका ११ झुप्राखोलामा आज बिहानीपख जिप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच ललितपूरको लामाटारमा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
ढुङिनबाट लूभूतर्फ आइरहेको प्रदेश २ ०४० प १३२० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विजुलीको पोलमा ठोक्किँदा घाइते भएका इमाडोल बस्ने अर्घाखाँचाका २२ वर्षका शिशिर भुसालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उहाँको उपचारको क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको हो ।
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९, ०९:००