काठमाडौँ । माघे सङ्क्रान्ति तथा जैविक विविधता दिवसको अवसरमा काठमाडौँको कपनस्थित मौलिक बजार तथा मौलिक भान्छा घरले आयोजना गरेको ७ दिने खाना महोत्सव सम्पन्न भएको छ ।
माघ १ गते बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले उद्घाटन गरेर सुरु भएको महोत्सवको समापन राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले गर्नुभएको थियो । महोत्सव समापन गर्दै उपाध्यक्ष बस्नेतले मौलिक भान्छाले आयोजना गरेको मौलिक र रैथाने खानाको महोत्सव उदाहरणीय काम भएकोले यसको प्रवर्द्धनमा युवा परिषद्को सहयोग रहने बताउनुभयो । स्वादसँगै आफ्नो स्थानीय उत्पादनहरूको बजारीकरण हुनु राज्य र स्वास्थ्य दुवैका लागि उत्तिकै महत्त्वपूर्ण भएकोले यस्ता व्यवसायलाई राज्यले प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमको अवलोकन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीले राज्यले गर्नुपर्ने काम निजी क्षेत्रबाट सुरुवात भएकोमा मौलिक भान्छा घरलाई धन्यवाद दिनुभयो । रेग्मीले भन्नुभयो “हाम्रा चाडपर्वमा खाइने मौलिक खाना स्वाद प्रवर्द्धनका साथै स्वास्थ्यको लागि पनि उत्तिकै महत्त्वपूर्ण भएकाले यस्तो खाना मौलिक भान्छाको (रेस्टुरेन्ट) मेनुमा समावेश हुँदा स्वदेशी उत्पादन र बजारीकरणमा सकारात्मक सन्देश जान्छ ।”
कार्यक्रममा कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख नारायणकुमार श्रेष्ठले मौलिक भान्छा घर र मौलिक बजारको प्रयासले अब किसानले उत्पादन गरेको वस्तुको बजार समस्या नहुने धारणा राख्नुभयो ।
वल्र्डमार्ट युनिक सोलुसन प्रालिद्वारा सञ्चालित मौलिक भान्छा घर ‘बसे पनि सहर, गाउँ कै खाने रहर, स्वादका लागि हैन स्वास्थ्यका लागि खाऔँ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको ६ सय ५० जनाले अवलोकन गरेको आयोजक सुमन दाहालले जानकारी दिनुभयो । महोत्सव पाँच सय जनाले अवलोकन गराउने लक्ष्य रहेकाेमा लक्ष्य भन्दा बढीले अवलोकन गरेको दाहालले जानकारी दिनुभयो । स्वास्थ्यप्रति विशेष ख्याल राख्ने उपभोक्ता बढ्दै गएकोले मौलिक र रैथाने खानाको माग पनि बढ्न थालेको र यो कार्यक्रम सञ्चालन गरेपछि आफू उत्साहित भएको उहाँको भनाई छ । महोत्सवमा विभिन्न स्वदेशी र रैथाने खानाको परिकारको स्टल राखिएको थियो भने एक सेट खाना निःशुल्क चखाउने व्यवस्था गरिएको थियो ।
मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारको महत्त्व बुझाउने जैविक विविधता दिवसको अवसरमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि ज्ञान केन्द्र ललितपुर, राष्ट्रिय युवा परिषद्, बुढानीलकण्ठ नगरपालिका र लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सहकार्यमा कार्यक्रम आयोजना गरिएको मौलिक भान्छा घरले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९, १६:५२