जुम्ला । कर्णालीका हिमाली जिल्लामा हिउँ पर्न सुरु भएको छ। जुम्लामा आज बिहान ५ बजेबाट हिउँ पर्न थालेको हो । जुम्लासहित कर्णालीका हिमाली जिल्ला मुगु, हुम्ला र डोल्पामासमेत हिमपात सँगै वर्षा भइरहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । यस्तै कालिकोट, सुर्खेत दैलेखमा पनि वर्षा भइरहेको छ ।
हिउँ पर्दा जनजीवन भने तत्काललाई प्रभावित भएको छ । माघ महिना आधा हुन लाग्दा पनि हिउँ नपर्दा चिन्तित किसान हिउँ पर्न थालेपछि भने खुशी भएका छन् । स्याउ किसान सरोज शाहीले भन्नुभयो ‘ अझै केही दिन हिउँ निरन्तर आउनुपर्छ, अनि मात्र बालीनाली सप्रिन्छ,उत्पादन बढ्छ । अहिले पर्याप्त हिउँ परे हिउँदे बाली जौ, गहुँलाई राहत हुनुका साथै बगैँचा व्यवस्थापनमा सहज हुने उहाँको भनाइ छ ।
हिमपातले विशेष गरी कृषि क्षेत्रलाई राहत पुग्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताउनुभयो । हिउँ नपरेर बाली सुक्न थालेको थियो । उहाँले भन्नुभयो , ‘बाली सुक्ने,उत्पादन घट्ने चिन्तामा किसान थिए । अहिलेको हिउँले बाली सप्रिने र स्याउ उत्पादन वृद्धिमा मद्दत पुग्छ ।’
हिमपातसँगै बढेको चिसोले कर्णालीको जनजीवन भने प्रभावित भएको छ । महिला बालबालिका, दीर्घ रोगी, सडक मानव चिसाले प्रभावित भएका हुन् । चिसोले भाइरल ज्वरो आउन सक्ने भएकोले अत्यावश्यक काम बाहेक बाहिर नआउन र झोलिला पदार्थ खान चिकित्सकको सुझाव छ ।
हिमपातले कर्णालीका हिमाली जिल्लाको हवाई तथा सडक यातायात पनि ठप्प भएको छ । जुम्ला नेपालगन्जको उडान,सँगै मुगु, हुम्ला, र डोल्पाको हवाई उडान ठप्प भएको हो । सडक यातायात कर्णाली राजमार्ग, नाग्म-गमगढी सडकको यात्रा पनि रोकिएको छ । प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले हिमपातपछि राहत उद्धार तथा पुनर्स्थापनाको पूर्व तयारी बलियो बनाइएको र तीन वटै सुरक्षा निकाय तैनाथ अवस्थामा रहेको बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९, १०:४८