चुनाव अघिसम्म गठबन्धन गरेर अघि बढेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बिच अहिले सुमधुर सम्बन्ध छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बने पछि कांग्रेस र नेकपा एस एकातिर अनि माओवादी केन्द्र अर्कोतिर भएका छन् । तर, यी दुई दलले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत भने दिएका छन् । विश्वासको मत दिए पनि सरकारमा सहभागी नहुने बरु रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने दाबी गर्दै आएका काँग्रेस र नेकपा एसले सभामुखको निर्वाचनमा सहकार्य गरेका छन् । राष्ट्रपतिको निर्वाचनमा पनि यस्तै अवस्था रहला ? नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग साथी राजन रुचालले गर्नुभएको कुराकानी ।
तपाईँ पूर्व प्रधानमन्त्री र नेकपा एसको अध्यक्ष पनि, नेपालको राजनीतिमा पटक पटक गोल गरिरहेको माधवकुमार नेपाल यस पटक गोल गर्न चुक्नुभएको हो ?
पहिलो त समय कस्तो छ भन्ने कुरा ध्यान दिनुपर्छ । हर समय आफू अनुकूल हुन्छ भन्ने छैन । अनुकूलता र प्रतिकुलता जीवनको स्वाभाविक प्रक्रिया भित्र पर्दछ । दोस्रो कुरा भनेको धैर्यता पनि हुनुपर्छ । र समयमा जिम्मेवारी पालना गर्न चुनौतीको सामना गर्नुपर्छ । यी तीन वटा कुरा भए भने मात्र अगाडी बढ्न सकिन्छ । कुरो मेरो अरू केही छैन, आफ्नो निम्ति पनि छैन, अरूको विरुद्धमा पनि छैन । छ भने राष्ट्र, जनता र नेपाली समाजको परिवर्तनको निम्ति छ । यस पटक समय हाम्रो पक्षमा रहेन ।
तर, तपाईँहरू नदी किनारमा छुटेको डुङ्गा जस्तै बन्नु भा छ नि । स्विकार्नु पर्दैन ?
अब यसलाई साक्षी किनारा भएको रूपमा पनि बुझ्न सकिन्छ । जीवन भनेको पनि यही हो । राजनीति भनेको पनि यही हो । सामान्य रूपमा लिनुपर्छ । सहज र स्वाभाविक रूपमा लिन सकियो भने हरेक अप्ठ्यारालाई सहज रूपमा पार गर्न सकिन्छ । र, ऐन मौकामा सबैलाई तपाईँको आवश्यकता महसुस हुन्छ ।
प्रचण्ड र तपाईँ अघिल्लो रातसम्म चखेवाको जोडी जस्तै हुनुहुन्थ्यो, प्राण एउटै ज्यान मात्र दुई भने जस्तो थियो, तपाईँहरू बिच यस्तो विग्रह कसरी भयो ?
पुस १० गते जुन दिन प्रधानमन्त्रीमा दाबी गर्नुपर्ने अन्तिम दिन थियो । त्यो दिनको १२ बजेसम्ममा कुरा मिलेन । खास गरी प्रचण्ड जी र शेरबहादुर जीबिच कुरा मिलेन । मेरो कुरा चाहिँ प्रचण्ड जीलाई पहिले प्रधानमन्त्री बनाउने प्रतिबद्धता जनाइसकेको हो भने त्यसको पालना गरौँ भन्ने थियो । यो कुरा मैले शेरबहादुर जीलाई भनेको पनि हुँ । तर, शेरबहादुर जीलाई चाहिँ प्रचण्डलाई कसैले प्रधानमन्त्री बनाउँदैन र घुमिफिरी मेरै भागमा आउँछ भन्ने लागेको रहेछ । उहाँलाई कसैले यस्तो गलत व्याख्या पनि गरेको रहेछ । त्यसपछि प्रचण्ड जी आफू प्रधानमन्त्री बन्ने विकल्पतिर केन्द्रित हुनुभएको हो । यताबाट प्रधानमन्त्री बन्ने सम्भावना रहेन भन्ने भए पछि उहाँ अर्को उपायको खोजीमा लाग्नुभयो । तर, उहाँले मलाई यसबारेमा कुनै सूचना र जानकारी दिनुभएन । किनभने हामी नहुँदा पनि उहाँलाई प्रधानमन्त्री बन्नका लागि आवश्यक पर्ने सांसदको सङ्ख्या पुगिहाल्यो । तै पनि उहाँले स्वतन्त्र सांसदलाई पनि सम्झना गर्नुभयो । तर खै त्यो दिन के भएछ, मलाई सर्लक्कै बिर्सनुभएछ । केही छैन, यस्तै हुन्छ यो राजनीतिमा ।
तपाईँलाई त्यो दिन बिर्सिएकोमा गुनासो छ ?
गुनासो त नभनी हालौँ, तर त्यो दिन जे गर्नुभयो, बेठिक गर्नुभयो । हुनसक्छ उहाँलाई केही बाध्यता थियो होला । म शङ्काको सुविधा दिने व्यक्ति, सिधै आरोप प्रत्यारोपमा लाग्दिन ।
एमालेसँग मिल्न मन छैन, माओवादीसँग छुट्न मन छैन । नेकपा एसलाई साह्रै अप्ठ्यारो देखिन्छ, यस्तो अबस्थाकबिच सरकारलाई विश्वासको मत चाहिँ किन दिनुभयो ? मझधारमा डुबेको राजनीतिको डुङ्गा निकाल्ने प्रयास गर्नुभएको हो ?
प्रचण्ड जीलाई विरोध गर्नुपर्ने कुनै आवश्यकता थिएन । कताबाट प्रधानमन्त्री बन्ने भन्ने उहाँको कुरा हो । यो धेरै महत्त्वपूर्ण होइन । किनभने पात्रको रूपमा उहाँले नै मौका पाउनु पर्छ भन्ने कुरामा म आफैँ पनि थिएँ । त्यसो भएको हुनाले पनि हामीले सरकारलाई समर्थन गरेका हौँ । काँग्रेसले पनि समर्थन गर्यो । हामी दुई दलकै कुरा मिल्यो, रचनात्मक समर्थन गर्ने अनि प्रतिपक्षमा बस्ने ।
तर, राष्ट्रपति उपराष्ट्रपतिको चिर्वाचनसम्म काँग्रेस र तपाईँहरू मिलेर पासा पल्टाउन कोसिस गर्ने होला नि ?
यो शङ्का उपशङ्का गर्न आवश्यक छैन । हामी यस्तो केही गर्दैनौँ । हामीमा धैर्यता छ । सरकार पुरै पाँच वर्ष चलोस् । अस्थिरता नआओस् । देशले विकास देख्न पाओस् । सत्ताका यी खेलहरूमा हाम्रो कुनै चाहना छैन ।
तपाईँको नाम राष्ट्रपति आकाङ्क्षीको रूपमा पनि आइरहेको छ, यो चर्चा किन भइरहेको छ त ?
यस्ता चर्चा त चलिरहन्छन् । मेरो बारेमा राष्ट्रपतिको चर्चा आजदेखि चलेको होइन । २०६५ सालमा पनि चलेकै थियो । संविधान बनिसकेपछि पनि मलाई राष्ट्रपतिका लागि दबाब आएकै थियो । मैले अस्वीकार गरेकै हुँ । त्यसो हुनाले राष्ट्रपतिको निर्वाचन आउँदा मेरो नाममा चर्चा हुने कुरालाई अस्वाभाविक रूपमा लिनु पर्दैन ।
यस पटक चाहिँ प्रधानमन्त्री प्रचण्डले तपाईँलाई राष्ट्रपतिको अफर गर्नुभएकै हो र ?
मैले यस्तो कतै सुनेको छैन । नभएको कुरा गर्न हुँदैन । प्रचण्डसँगको सम्बन्ध पहिले जस्तो सुमधुर छैन । उहाँले मलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने कुरा पनि भएन । कतैबाट कुरा आएको छैन ।
त्यसो भए राष्ट्रपतिको निर्वाचनमा तपाईँहरू कसलाई सघाउने त ?
हेरौँ न, अझै समय बाँकी छ । समयभन्दा पहिले कुनै पनि कुराहरूमा धेरै उछलकुद् गर्न पनि हुँदैन । घटनाक्रमहरूको मसिनो गरी विश्लेषण गर्नुपर्छ । त्यसपछि उपयुक्त समयमा उपयुक्त कदम चाल्नुपर्छ ।
त्यसरी धैर्यतापूर्वक सोचेर निर्णय गर्दा एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने सम्भावना पनि हुन्छ ?
अब घटनाक्रमले कस्तो मोड लिने हो, राजनीतिमा यसै भन्न त सकिँदैन । तर, यस बिचमा कुनै नाटकीय परिवर्तन होला जस्तो मलाई लागेको छैन ।
तपाईँ(हरू) एमालेमा फर्कने सम्भावना चाहिँ कति छ ?
फर्कने त कुरै छाड्नुस् । तपाईँले पार्टी एकताको कुरा गर्न खोज्नुभएको होला । त्यसको कुनै सन्दर्भ पनि छैन र कसैलाई चासो पनि छैन । तर हामी सिङ्गो नेपालको बाम आन्दोलनलाई एकताबद्ध बनाउन चाहन्छौँ । त्यसो भएकाले हामी विभिन्न पार्टीसँग वार्ता र संवाद पनि गरिरहेका छौँ । जनता समाजवादी पार्टीसँग हाम्रो छलफल भइरहेको छ । माओवादी केन्द्रसँग पनि हामी संवादमै छौँ । चन्द्रदेव जोशी जीसँग पनि छलफल भइरहेको छ । वामपन्थी एकताका बारेमा हामी लागिरहेका छौँ तर एमालेसँग अहिले नै एकता हुने कुरा सम्भावना छैन ।
जसपासँग एकताको प्रयास चाहिँ संसद्मा तपाईँहरूको बार्गेनिङ पावर बढाउनको लागि मात्रै त होइन ?
कुरालाई जसरी व्याख्या गरे पनि भो । स्वार्थ पूरा गर्न सकिन्छ भनेर पार्टीमा लागेको भनिदिए पनि भयो । परिवर्तनका लागि शक्ति बढ्न भनेर पनि व्याख्या गर्न सकिन्छ । जे भए पनि शक्ति आर्जन गर्ने नै हो । शक्ति बलियो भने मात्रै बिचार बलियो हुन्छ । शक्ति नभएको पानीबाट बिजुली निस्किन्छ ?
जसपासँग पार्टी एकता भयो भने, नेतृत्व कसले गर्ने हो ?
पहिले बिचार मिल्नुपर्छ । सिद्धान्त र कार्यदिशा मिल्नुपर्छ । त्यसपछि मन मिल्नुपर्छ । यी सबै कुरा एउटा क्रमबाट अघि बढ्नुपर्छ । त्यसो भयो भने नेतृत्वको सवालमा कुनै ठुलो विवाद होला जस्तो मलाई लाग्दैन ।
नेपालको राजनीतिक मैदानमा उत्रिएका तपाईँ सबै खेलाडीहरू यसपालि केपी शर्मा ओलीसँग पराजित हुनुभएको हो ?
व्यक्तिको विषयमा मैले धेरै टिप्पणी गर्नुपर्ने छैन । यो सबै सङ्ख्याको खेल हो । त्यसमा पनि नेपाली काँग्रेसमा दम्भ सवार भइसकेपछि भएको दुर्घटना हो ।
तर नेताहरूको भनाइलाई मान्ने हो भने काँग्रेस त अहिले कोर्स करेक्सनको बाटोमा छ, तपाईँले चाहिँ काँग्रेसको पछिल्ला गतिविधि र छलफललाई कुन रूपमा लिनुभएको छ ?
विगत समयमा पनि शेरबहादुर जी नै नेपाली काँग्रेसको संसदीय दलको नेता हुँदा खेरि ०५१ सालको हाम्रो सरकारलाई विश्वासको मत दिनुभएको थियो र प्रतिपक्षमा बस्नुभएको थियो । प्रचण्ड जी ले पनि नेपाली काँग्रेसकै नेता सुशील कोईरालालाई विश्वासको मत दिनुभएको थियो र प्रतिपक्षमा बस्नुभएको थियो । यो त नेपाली राजनीतिमा भइरहेकै कुरा हो । कुनै अस्वाभाविक त हैन । यसको पछाडिका कारण के के होलान् भन्ने कुराहरूमा तपाई पत्रकारहरूले पनि खोज्नुस् । हामी पनि खोज्दै र घटनाक्रमलाई नियाल्दै जान्छौँ ।
तपाईँहरू चुनावमा राष्ट्रिय पार्टी बन्न नसकेकोमा कि एमालेले तपाईँहरूले सोचेभन्दा राम्रो सिट ल्याएकोमा बढी दुखी हुनुहुन्छ ?
हामी पर पीडक प्रवृत्ति भएका मान्छे परेनौँ । हामीसँग मानवीय संस्कार छ । त्यसो भएको हुनाले बदलाको भावनामा चल्दाचल्दै । जे भएको छ, त्यसलाई हामी स्वीकार गर्छौँ । त्यसले कसैलाई दम्भी नबनाओस् । राजनीतिको यात्रा यहीँ अन्त्य हुँदैन ।