काठमाडौँ । गत मङ्गलवार काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन बाहिर व्यस्त सडकको बिचमा इलामका प्रेमप्रसाद आचार्यले आफैँलाई आगो लगाउनुभयो ।
उहाँको उपचारको क्रममा भोलिपल्ट मृत्यु भयो ।
आचार्यले सामाजिक सञ्जालमा लेखेको सन्देशका आधारमा सरकारले छानबिन प्रक्रिया अघि बढाएको छ ।
सडकबिचमा प्रेमप्रसादले आफ्नै शरीरमा आगो लगाउँदा छेउछाउमा रहेका मानिस पनि अतालिएको देखिन्छ । आफ्नै छेउमा कोही जलेमा के गर्ने, कसो गर्ने भन्ने अन्योल हुनु अस्वाभाविक पनि नहोला तर, शरीरमा लागेको आगो तत्कालै निभाउन पहल गर्न सकिएको भएँ उहाँलाई बचाउन सकिने थियो कि भन्ने लाग्छ नै ।
आगो लागेको मानिसलाई बढी जल्न नदिन नजिकै रहेका मानिसले तत्काल के गर्न सक्छ वा गर्नुपर्छ ? जलेको मानिसका लागि अस्पताल पुग्नुअघि प्राथमिक उपचार के गर्न सकिन्छ ? के जलेको मानिस बाँच्ने सम्भावना हुन्छ कि हुँदैन ? यस्तै प्रश्न लिएर हामीले जलनसम्बन्धी चोटको उपचारका विज्ञ प्राध्यापक डा. शङ्करमान राईलाई भेटेका छौँ ।
डा. राई भन्नुहुन्छ, ‘आगोले पोलेको चोटपटकको उपचार गर्ने कीर्तिपुर अस्पतालमा मात्रै वार्षिक औसत ६ सय जना उपचारका लागि पुग्छन् । त्यसको २२ प्रतिशत मानिस बचाउनै नसकिने अवस्थामा पुगेका हुन्छन् ।’
डा राईका अनुसार यसरी मृत्यु हुनेमध्ये अधिकांशले प्राथमिक उपचार पाएको भए बचाउन सकिने सम्भावना बढी देखिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनको दाबी मान्ने हो भने नेपालमा प्रत्येक वर्ष दुई हजार एक सय जना मानिसको जलेर मृत्यु हुन्छ ।
त्यसको प्रमुख कारण मानिसमा आगोले जलेमा के गर्ने ? भन्ने बारेमा जानकारीको अभाव हो ।
त्यसो भए जलेको मानिस कसरी बचाउने ? जवाफमा डा शङ्करमान राई भन्नुहुन्छ, ‘ पहिला त जल्दै गरेको मानिसले पनि आफैले आफैलाई बचाउने कोसिस गर्न सक्छ । आफैले आगो लगाएको अवस्थामा बाहेक । त्यस्तो अवस्थामा आगो लागेको मानिस दौडिनु भएन र भुईँमा लडिबुडी गर्नुपर्यो ।
बिर्सिनु भएन कि नआत्तिनु पनि एक समाधान हो ।
अब आफैले आत्मदाह प्रयास गरेको मानिसले यो चाहँदैन । त्यो अवस्थामा आगो लागेको देख्नासाथ आफूसँग भएको बाक्लो कपडाले जल्दै गरेको मानिसलाई छोपिदिनुपर्छ ।
फेरि प्रश्न आउन सक्छ 'आगोले अर्को मानिसलाई पनि पोलिहाल्छ नि !' बिर्सिनु भएन कि नआत्तिनु पनि एक समाधान हो ।
बानेश्वर घटनामा वरपर रहेका सबै मानिससँग ज्याकेट थियो । एक दुई जनाले पनि त्यो अभ्यास गरेको भए चोट कम हुन्थ्यो र बचाउन सकिने सम्भावना बढ्थ्यो ।
हामीले अघि नै भन्यौँ जलेको अवस्थामा के गर्ने भन्ने सामान्य चेतना पनि आम मानिससँग छैन ।
अर्को बिर्सिन नहुने कुरा भनेको जलेको मानिसलाई पानी लगातार छ्यापेर बचाउन सकिन्छ । बानेश्वरकै उदाहरण हेर्दा उहाँ भुईँमा लडिसकेपछि एक व्यक्तिले जारबाट पानी खन्याएको देखियो ।
त्यो पहिले नै गर्न सकेको भए अवस्था अर्कै हुन्थ्यो ।
कतिपय मानिसले जलेको ठाउँमा पानी लगाउनु हुँदैन भनेको सुनिन्छ । तर त्यो गलत हो । जलेको मानिसको प्राथमिक उपचार भनेकै पानी हो । तपाईं जति सक्नुहुन्छ पानी खन्याउनुस् । त्यसले चोट गहिरो हुन दिँदैन ।
एकदमै ख्याल गर्नुपर्ने कुरा के छ भने जलेको मानिसलाई उपचार गर्न अस्पताल पुर्याउनुअघि उसमाथि पानी खन्याउनुस्, कम्तिमा आधा घण्टा ।
यसले कुनै पनि व्यक्तिको आगो लागेर मृत्यु हुने सम्भावना धेरै हदसम्म घटाउँछ । अस्पताल पुर्याउन हतार नगर्नुस् ।
त्यो पानी खन्याउने काम जलनपछि जति छिटो र लामो समयसम्म गर्न सक्यो उति राम्रो हो ।
आगो मात्र होइन, तातो पानी, तातो तेल, बिजुली, एसिड जुनसुकै वस्तुको जलन पनि पानीले निको बनाउन सक्छ ।
हामीले जलेको वा पोलेको ठाउँमा आलु, टमाटर, घ्यूकुमारी काटेर लगाउँछौँ । ती चिजहरूमा पनि चिसोको मात्रा हुने भएकाले आराम महसुस होस् भनेर लगाउने परम्परा बसेको हो । तर त्योभन्दा उत्तम उपाय पानी नै हो ।
जलनसम्बन्धी चोटको उपचारका विज्ञ प्राध्यापक डा. शंकरमान राईसँगको कुराकानी:
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९, १४:३०